काठमाडौं – सरकारी कर्मचारीहरूले अब कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाक लगाएर टिकटक भिडिओ बनाउन वा व्यक्तिगत फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडा मापदण्ड तोकेको हो।
मन्त्रीस्तरबाट असार १६ गते स्वीकृत ‘भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ कार्यान्वयनमा आएसँगै कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाकमा कार्यालयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शैक्षिक सामग्रीबाहेक अन्य कुनै पनि फोटो वा भिडिओ बनाउन तथा सामाजिक सञ्जालमा राख्न रोक लगाइएको छ।
आचारसंहिताले कार्यालय समयबाहेक पनि फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, लिंक्डइन, टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा, व्यावसायिक आचरण र सार्वजनिक विश्वासमा असर नपर्ने गरी सतर्कता अपनाउनुपर्ने व्यवस्था गरेको छ।
यसअनुसार सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने वा जनमानसमा भ्रम र अविश्वास फैलाउने किसिमका अडियो, भिडिओ वा अन्य सामग्री पोस्ट तथा शेयर गर्न पाइने छैन। सरकार वा मन्त्रालयका निर्णयबारे भ्रामक सूचना फैलाउने, सामाजिक सञ्जालमार्फत व्यक्तिगत गुनासो सार्वजनिक गर्ने तथा पदाधिकारीको मान–मर्यादामा आँच पुग्ने टिप्पणी वा व्यंग्य गर्नसमेत रोक लगाइएको छ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर पार्ने वा राजनीतिक पूर्वाग्रहयुक्त अभिव्यक्ति सामाजिक सञ्जालमा राख्न पनि कर्मचारीलाई निषेध गरिएको छ।
यद्यपि मन्त्रालयले कर्मचारीलाई आफ्नो विशेषज्ञतासम्बन्धी अध्ययन, अनुसन्धान, प्रवचन, अध्यापन, साहित्य, कला, संस्कृति, खेलकुद तथा सामाजिक गतिविधिमा मन्त्रालयको काममा असर नपर्ने गरी सहभागी हुन भने अनुमति दिएको छ। व्यक्तिगत इमेल तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न पनि आचारसंहिताले छुट दिएको छ।
मन्त्रालयका अनुसार आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन सचिव वा निजले तोकेको अधिकृतले गर्नेछन्। साथै, सबै राष्ट्रसेवक कर्मचारीले ‘सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीहरूको आचारसंहिता, २०८०’ समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।












