गणेश बहादुर मगर, डडेल्धुरा
सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले दार्चुलाको अपि हिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’को आयोजना गदैछ । पछिल्लो समय नयाँ पर्यटकिय गन्तव्यको रुपमा चिनिदै गएको अपि हिमाल बेस क्याम्प लाई यो पटक आयोजना हुन लागेको पर्यटन उत्सवले थप प्रचार प्रसार गर्नेछ । अपि हिमाल क्षेत्रको पर्यटन विकासमा अपि हिमाल गाँउपालिकाको प्रयास भने यो मात्र होईन । स्थानिय, प्रदेश, संघिय राजधानीमा गाँउपालिकाको तर्फ बाट अनेकौ प्रयास पश्चात त्यहाँको पर्यटनले आज यो उचाई पाईरहेको छ ।

विगत केही वर्ष यता अपि हिमाल गाँउपालिकाले आफुलाई पर्यटनमा समर्पित गर्दै पर्यटनमा फड्को मारीरहेको प्रतयक्ष रुपमा देख्न सकिन्छ । अपि हिमाल गाँउपालिकाले पर्यटनमा गरेको लगानी सम्भवतः देशमै उदाहरणीय होला ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमाल गाउँपालिकाले पर्यटन विकासका प्राकृतिक सौन्दर्य, हिमाली भू दृश्य, मौलिक संस्कृति र साहसिक पदयात्राका कारण नेपालको पर्यटनमा सम्भावना बोकेको गन्तव्यका रूपमा आफुलाई अगाडि बढाईरहेको मात्र छैन एक गन्तव्यको रुपमा पहिचान पनि बनाई रहेको छ ।
हिमाल, पहाड, ग्रामीण बस्ती र स्थानीय जीवनशैलीको विशिष्ट संयोजन रहेको अपि हिमाल क्षेत्रमा पदयात्रा, प्रकृति अवलोकन, सांस्कृतिक अनुभव तथा ग्रामीण पर्यटन विस्तार गर्न सकिने सम्भावना छ। नेपालका स्थापित पर्यटकीय गन्तव्यभन्दा फरक अनुभव खोज्ने आन्तरिक तथा विदेशी पर्यटकका लागि यो क्षेत्र आकर्षक विकल्प बन्न सक्छ।
पर्यटन प्रवर्द्धनमा सबैको पहल
अपिहिमाल गाउँपालिकाले पर्यटनलाई स्थानीय विकास र रोजगारीसँग जोड्ने सम्भावना बोकेको क्षेत्रका रूपमा अघि बढाउन आवश्यक विभिन्न प्रयास गर्दै आएको छ। पर्यटकीय पदमार्ग निर्माण तथा सुधार, गन्तव्यको पहिचान र पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन यस क्षेत्रको पर्यटन विकासका महत्त्वपूर्ण पक्ष हुन्।

गाउँपालिकाले निर्माण गरेको मकरीकोट–खण्डेश्वरी हुँदै अपि बेसक्याम्प पुग्ने पदमार्गलगायत पर्यटकीय पूर्वाधारहरुले यो क्षेत्रको पर्यटनमा मेरुदण्डको भुमिका खेल्यो । पक्कै पनि यस्ता योजनाको प्रभावकारी कार्यान्वयन र नियमित मर्मतले पर्यटकको आवागमन सहज बनाउन सहयोग पुरयाएको छ ।
त्यस्तै, पर्यटन उत्सव, प्रचारात्मक कार्यक्रम, फोटो तथा भिडियो सामग्री निर्माण र सञ्चारमाध्यमसँगको सहकार्यबाट अपि हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरयो । यस क्षेत्रमा लगातार लामो समय बसेर फोटो तथा ििभडियो खिचेर सामाजिक संञ्जालमा पस्किरहजे फेरुवा अर्थात हिमालय भट्ट, सुदूरपश्चिमका चर्चित युट्यूवर हेमन्त राई, ट्राभल भ्लगर तथा यूट्युवर पूर्वि व्लुज, घुमन्ते हरुले सामाजिक संञ्जालमा पोष्टीएका फोटो तथा भिडियोहरुले पनि यहाँको प्रचार प्रसारमा सहयोग पुरयाएको कुरा लाई नकार्न सकिन्न । पर्यटनसम्बन्धी गतिविधिलाई निरन्तरता दिँदै स्थानीय उत्पादन, संस्कृति र प्राकृतिक सम्पदालाई एउटै पर्यटकीय प्याकेजमा जोड्न सके गन्तव्यको आकर्षण थप बढ्न सक्ने यथार्त स्विकार्दै गाँउपालिकाले आफ्नो कार्यक्रमहरु अगाडी सारीरहेको छ ।
पर्यटक आगमन र सम्भावनाको विस्तार
अपि हिमाल क्षेत्रमा पर्यटक आगमन बढ्दै गएको गाउँपालिका नेतृत्वको दाबी छ। द काठमाडौँ पोस्ट मा सन् २०२६ मा प्रकाशित अन्तर्वार्तामा गाउँपालिका अध्यक्ष भगत सिँह ठेकरे बोहराले अपि बेसक्याम्प तथा आसपासका धार्मिक र प्राकृतिक स्थलमा वार्षिक करिब चार हजारदेखि पाँच हजार पर्यटक पुग्ने गरेको बताएका थिए तर सामाजिक संञ्जालमा अपि हिमाल बेस क्याम्प सम्म जाने आन्तरिक पर्यटकहरुको फोटो तथा भिडियो अनी विभिन्न पत्र पत्रिका प्रकाशित लेख रचनाहरु हेर्ने हो भने त्यो संख्या बढेको हुन सक्ने अनुमान लगाउन सकिन्छ । अनुसार । गाउँपालिका अध्यक्ष भगत सिँह ठेकरे बोहराका अनुसार सन २०२५मा करिव पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक हरु अपि हिमाल बेस क्याम्प क्षेत्रमा आएका थिए।

पर्यटकको आगमन बढ्नु मात्र पर्यटन विकासको पूर्ण सफलता होइन। उनीहरूको बसाइ अवधि लम्ब्याउने, स्थानीय उत्पादनको बिक्री बढाउने र पर्यटनबाट हुने आम्दानी गाउँमै राख्ने व्यवस्था गर्न सके यसको प्रत्यक्ष लाभ स्थानीय समुदायसम्म पुग्न सक्छ।
स्थानीय रोजगारी र आम्दानीको अवसर
पर्यटन विकासले अपिहिमालका स्थानीय बासिन्दालाई गाउँमै रोजगारी तथा उद्यमको अवसर सिर्जना गर्न सक्छ। होमस्टे सञ्चालन, स्थानीय परिकार, कृषि उत्पादन, हस्तकला, पदयात्रा गाइड, भरिया सेवा तथा स्थानीय यातायातमार्फत आम्दानीका स्रोत विस्तार गर्न सकिन्छ।
विशेषगरी महिला, युवा र साना उद्यमीलाई पर्यटनसम्बन्धी सीप तथा व्यवसाय व्यवस्थापन तालिम उपलब्ध गराउन सके स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान बढ्न सक्छ। स्थानीय उत्पादनलाई पर्यटकसँग जोड्ने बजार प्रणाली र पर्यटन व्यवसायमा समुदायको सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
तर पर्यटनबाट प्राप्त हुने लाभ सीमित व्यवसायीमा मात्र केन्द्रित नभई गाउँका विभिन्न बस्ती र समुदायसम्म पुग्ने व्यवस्था आवश्यक छ। यसका लागि स्थानीय तह, निजी क्षेत्र, सहकारी, समुदाय र पर्यटन व्यवसायीबीच सहकार्य अपरिहार्य छ।
कात्तिकमा पर्यटन उत्सव आयोजना हुँदै
अपिहिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई थप गति दिन २०८३ कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार उत्सव अपिहिमाल गाउँपालिका–१ स्थित अपिहिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुनेछ। पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र आयआर्जनका अवसर विस्तार गर्दै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्य उत्सवको रहेको जनाइएको छ।
यस्तो उत्सवले अपि हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचान राष्ट्रियस्तरमा प्रचार गर्न, स्थानीय उत्पादनको बजार विस्तार गर्न र पर्यटन व्यवसायी तथा सरोकारवालाबीच सहकार्य बढाउन सहयोग पुर्याउन सक्छ। तर उत्सवलाई प्रभावकारी बनाउन कार्यक्रमपछि पनि निरन्तर प्रचारप्रसार, पर्यटक सेवा र स्थानीय व्यवसायको विकासमा ध्यान दिनुपर्ने देखिन्छ।












