सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई डीनमा नियुक्त गरेको हो।
बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलाराका डा. धामीले चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका छन् भने सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) समेत अध्ययन गरेका छन्।
डा.धामीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न समयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।












