२०८३ कार्तिक ९
खाेज्नुहाेस

आफ्नै प्रशासकीय भवनबाट सेवा दिँदै गन्यापधुराः आज भयो नयाँ भवनको उद्घाटन

Image

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले तीन सभाहल र ३६ कोठासहितको आफ्नै आधुनिक प्रशासकीय भवनबाट सेवा प्रवाह गर्ने भएको छ । छ करोड ५३ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भवनको आइतबार गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरे ।

गाउँपालिकाको वडा नम्बर २ गणेशपुरमा निर्मित भवनको रिबन काट्नुका साथै शिलालेख अनावरण गरेर उद्घाटन गरिएको हो । हिन्दु धार्मिक परम्पराअनुसार पूजाआजा गरी भवनको उद्घाटन गरिएको वडा नम्बर २ का अध्यक्ष मनोज देउवाले बताए ।

यसअघि भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले गत वर्षदेखि कृषि तथा पशु सेवाको एकीकृत भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएको थियो । आफ्नै भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीलाई सहज हुने र प्रशासनिक कामकाज व्यवस्थित बन्ने गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

उनका अनुसार गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, सिँचाइ, खानेपानी र कृषि पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । पाँच वटा वडा रहेको गाउँपालिकामा चार वटा वडाका आफ्नै भवन निर्माण भइसकेका छन् । एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल र दुई वटा शीतभण्डारसमेत सञ्चालनमा रहेको कार्कीले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलिप तामाङका अनुसार भवन निर्माणका लागि २०७८ पुस २२ गते ठेक्का सम्झौता भएको थियो । २०८१ पुस २० गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सङ्घीय सरकारबाट साझेदारीअनुसारको बजेट समयमै प्राप्त नहुँदा करिब दुई वर्ष ढिलाइ भएको उनले बताए ।

भवन निर्माणका लागि छ करोड ५२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाको नाममा रहेको ११ रोपनी जग्गामध्ये आठ रोपनीमा भवन निर्माण गरिएको तामाङले बताए ।