काठमाडौं- देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर बदली रहने अनुमान छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रसँगै मधेश र कोशी प्रदेशका केही स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा जारी रहन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूले नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा विशेष सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।












