२०८३ कार्तिक १२
खाेज्नुहाेस

नक्कली शरणार्थी प्रकरणमा रायमाझी, खाणसहित १६ जना दोषी ठहर

Image

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई दोषी ठहर गरेको छ।

मुद्दा दर्ता भएको करिब तीन वर्षपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै प्रतिवादीहरूलाई किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो। अदालतले उनीहरूको भूमिका र संलग्नताका आधारमा फरक–फरक कसुर कायम गरेको जनाएको छ।

दोषी ठहर हुनेमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झासमेत रहेका छन्।

अदालतले यो घटनालाई नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुर्‍याउने तथा नेपाली नागरिकको स्वाभिमानमाथि आघात पुर्‍याउने राज्यविरुद्धको गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ।

यता सन्दीप रायमाझीसहित सात जनाले भने आरोप पुष्टि नभएको भन्दै सफाइ पाएका छन्। फरार रहेका आठ प्रतिवादीको हकमा पक्राउ परेपछि कानुनबमोजिम प्रक्रिया अघि बढाइने गरी मुद्दा मुलतबीमा राखिएको अदालतले जनाएको छ।

दोषी ठहर भएका व्यक्तिको सजाय निर्धारणका लागि अदालतले असार २९ गतेको मिति तोकेको छ।