सर्लाही – प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै सर्लाहीको मलंगवामा एक युवक नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका छन्। आइतबार बिहान गोडैता नगरपालिका–९ बकैनियाका अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरको टावरमा चढेका हुन्।
टावरमा पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरी आफू माथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर पुगेको थियो। प्रहरीका अनुसार हुसेनले आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरबाट हामफाल्ने चेतावनी दिएका थिए।
सूचना पाएलगत्तै प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर सम्झाइ–बुझाइ गरेपछि उनलाई सकुशल टावरबाट तल झारिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
प्रारम्भिक विवरणअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। उनी र सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीबीच प्रेम सम्बन्ध रहेको बताइए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












