दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङपोलमा पहिरोमा परेर चार महिनाकी एक शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार आइतबार राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। घटनामा उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार शर्मिला माइती रहेको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट बोलेरो गाडीमा घर फर्किँदै थिइन्। सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङपोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध गरेपछि यात्रुहरू गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका बेला अर्को पहिरो खसेको थियो।
स्थानीयवासीले तत्काल उद्धार गरी आमा–छोरीलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले एलिनालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते भएकी शर्मिलाको प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।












