काठमाडौं- सरकारले सरकारी कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गर्दै कार्यालय तथा सार्वजनिक स्थलमा धूम्रपान, मदिरा सेवन, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीले यस्ता गतिविधि स्वयं गर्न वा अरूलाई गराउन नपाउने उल्लेख गरिएको छ।
आचारसंहिताले सरकारी कर्मचारीलाई सम्बन्धित निकायको स्वीकृतिबिना कुनै व्यक्ति वा संस्थाबाट उपहार, आतिथ्यता वा अन्य सुविधा स्वीकार गर्न पनि रोक लगाएको छ।
त्यसैगरी, आफ्नो पद वा जिम्मेवारीको दुरुपयोग हुने गरी व्यक्तिगत लाभ हुने कुनै पनि गतिविधिमा संलग्न हुन नपाइने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ।
सरकारले कर्मचारीको व्यावसायिक आचरण, पारदर्शिता, अनुशासन र सुशासनलाई थप प्रभावकारी बनाउन नयाँ आचारसंहिता लागू गरिएको जनाएको छ।












