२०८३ कार्तिक १२
खाेज्नुहाेस

एमएस्सी गरेका विवेकले किन गरे आत्मदाह प्रयास ? बेरोजगारी र ऋणको पीडादायी कथा

Image

काठमाडौं – सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। प्रहरीले उनको शरीरको अधिकांश भाग जलेको जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो विवेकले आफ्नै शरीरमा आगो लगाएका थिए। प्रारम्भिक उपचारका लागि उनलाई प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको हो।

परिवारका अनुसार विवेकले विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) उत्तीर्ण गरेका थिए। उनी करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित एक विद्यालयमा करिब तीन वर्ष शिक्षकका रूपमा कार्यरत थिए। उनका बुवा उपेन्द्र मण्डलका अनुसार विद्यालयभित्रको राजनीतिक चलखेलका कारण उनले जागिर छोड्नुपरेको थियो।

विवेकका साथीहरूले पनि अध्यापन क्षमता राम्रो हुँदाहुँदै राजनीतिक प्रभावका कारण उनी जागिरबाट बाहिरिन बाध्य भएको दाबी गरेका छन्।

जागिर छोडेपछि उनी घरमै बसेर विभिन्न विद्यालयमा रोजगारी खोज्नुका साथै लोक सेवा आयोगका परीक्षामा पनि सहभागी भएका थिए। तर कुनै प्रयास सफल हुन नसक्दा उनी निराश बन्दै गएको परिवारको भनाइ छ।

उनकी श्रीमती रिनादेवी मण्डलका अनुसार उच्च शिक्षा हासिल गरे पनि स्थायी रोजगारी नपाउँदा विवेक मानसिक रूपमा निकै तनावमा थिए। उनले आफूले आमाबुवाको सम्पत्ति खर्च गरेर पढे पनि परिवारको अपेक्षा पूरा गर्न नसकेको भन्दै बेला–बेलामा दुःखेसो व्यक्त गर्ने गरेका थिए।

आमा मन्टुटिया देवीका अनुसार लामो समयको बेरोजगारी र आर्थिक अभावका कारण उनी मानसिक तनावमा परेका थिए र केही समयअघि उपचारसमेत गराइएको थियो।

परिवार अहिले ठूलो आर्थिक भारमा पनि छ। बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको अध्ययन र घरखर्चका लागि गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ।

विवेकका दाजु विगत चार वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्। परिवारका अनुसार दाजुकै आम्दानीबाट घरखर्च र विवेकको उच्च शिक्षाको खर्च जुटाइएको थियो। एमएस्सी पूरा गरेपछि परिवारले आर्थिक अवस्था सुधारिने अपेक्षा गरेको भए पनि त्यो पूरा हुन सकेन।

विवेकका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरा हाल महोत्तरीमा मामाघर बसेर अध्ययन गरिरहेका छन् भने छोरी परिवारसँगै सर्लाहीमा छिन्। पहिलेदेखि नै कमजोर आर्थिक अवस्थासँग जुधिरहेको मण्डल परिवार अहिले विवेकको उपचारका कारण थप आर्थिक संकटमा परेको छ।