काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा एक साताभित्र उपस्थित भएर बयान दिन पत्र पठाएको छ।
विभागले सोमबार बुढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि सूचना टाँस गरेको जनाएको छ। पत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान जारी रहेकाले तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा पनि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।
स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासँग सम्बन्धित उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेपछि बयानका लागि बोलाइएको जनाइएको छ।












