काठमाडौं- जापानमा नेपाली समुदायबीच आत्महत्याका घटना चिन्ताजनक रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। पछिल्लो ११ महिनामा जापानमा २७ जना नेपालीले आत्महत्या गरेको तथ्याङ्क नेपाली दूतावासले सार्वजनिक गरेको छ। आत्महत्या गर्नेमध्ये अधिकांश विद्यार्थी भिसामा जापान पुगेका नेपाली रहेका छन्।
यही असार १ गते मात्रै जापानमा दुई नेपालीले आत्महत्या गरेका थिए। मृतकमध्ये एक विद्यार्थी भिसामा अध्ययनरत पुरुष र अर्की डिपेन्डेन्ट भिसामा जापान पुगेकी महिला रहेको दूतावासले जनाएको छ।
जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार २०८२ साउन १ गतेदेखि २०८३ असार १ गतेसम्म ११ महिनाको अवधिमा जापानमा ६६ जना नेपालीको मृत्यु भएको छ। तीमध्ये २७ जनाले आत्महत्या गरेका छन् भने आत्महत्या गर्नेहरूमध्ये १६ जना विद्यार्थी भिसामा रहेका नेपाली हुन्।
राजदूत पौडेलका अनुसार आत्महत्याका कारणबारे विस्तृत अनुसन्धान नभए पनि ठूलो सपना बोकेर जापान पुगेका विद्यार्थीहरू अपेक्षाअनुसारको अवस्था नपाउँदा मानसिक रूपमा निराश हुने र त्यसकै परिणामस्वरूप चरम निर्णयसम्म पुग्ने गरेको देखिएको छ।
उनका अनुसार अधिकांश नेपाली विद्यार्थी उच्च शुल्क तिरेर तथा चर्को ब्याजमा ऋण लिएर जापान अध्ययनका लागि पुग्ने गरेका छन्। तर त्यहाँको महँगो जीवनशैली, सीमित आम्दानी, अध्ययन खर्च र नेपालमा रहेको ऋणको दबाबले उनीहरूमा मानसिक तनाव बढ्ने गरेको छ।
जापानमा विद्यार्थीलाई सातामा अधिकतम २८ घण्टा मात्रै काम गर्ने कानुनी अनुमति छ। तर कतिपय शैक्षिक संस्थाले काम गर्नसमेत सहज वातावरण नदिने गरेको गुनासो नेपाली दूतावासमा आउने गरेको छ। सीमित समयको कामबाट कोठाभाडा, खानपान र ट्युशन शुल्क व्यवस्थापन गर्नै कठिन हुने भएकाले धेरै विद्यार्थी आर्थिक समस्यामा पर्ने गरेका छन्।
त्यसमाथि नेपालमा लिएको ऋण तिर्न परिवारबाट निरन्तर दबाब आउने, अपेक्षाअनुसार रोजगारी नपाउने तथा अतिरिक्त समय काम गर्न खोज्दा कानुनी कारबाहीको जोखिम रहने अवस्थाले मानसिक बोझ थपिएको दूतावासको भनाइ छ। दूतावासका अनुसार तोकिएको समयभन्दा बढी काम गरेको अभियोगमा जापानमा दैनिक दुईदेखि तीन जना नेपाली पक्राउ पर्ने गरेका छन्।
विद्यार्थीहरूका लागि अर्को चुनौती होस्टेल व्यवस्थापन पनि बनेको छ। दूतावासका अनुसार केही जापानी शैक्षिक संस्था, नेपाली कन्सल्टेन्सी र होस्टेल सञ्चालकबीचको समन्वयका कारण विद्यार्थीहरूलाई निश्चित होस्टेलमै बस्न बाध्य बनाइन्छ। भर्नाअघि नै करिब ६ महिनाको होस्टेल शुल्क अग्रिम तिर्नुपर्ने व्यवस्था रहेको र त्यसका लागि झन्डै ३ लाख रुपैयाँ खर्च हुने गरेको बताइएको छ।
जापान सरकारको तथ्याङ्कअनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा १ लाख १६ हजार १५१ नेपाली विद्यार्थी रहेका छन्। विदेशी विद्यार्थीमध्ये चिनियाँपछि नेपाली विद्यार्थीको संख्या दोस्रो ठूलो हो।
त्यस्तै, हाल जापानमा बसोबास गर्ने नेपालीको संख्या ३ लाख ९९२ पुगेको छ। आप्रवासी समुदायमध्ये नेपाली पाँचौं ठूलो समूह रहेको छ भने ९ हजार ९०८ नेपालीले जापानको स्थायी आवास अनुमति (पीआर) प्राप्त गरिसकेका छन्।
दूतावासका अनुसार जापानमा नेपालीले सञ्चालन गरेका होटल तथा रेस्टुरेन्टको संख्या करिब ६ हजार पुगेको छ। कुक भिसामा जाने नेपालीमध्ये कतिपयले श्रम शोषण, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा सुविधाबाट वञ्चित हुनुपरेको गुनासोसमेत आउने गरेको छ। यस्ता विभिन्न आर्थिक, सामाजिक र मानसिक दबाबहरूले जापानमा रहेका नेपालीहरू थप तनावमा पर्ने गरेको दूतावासको निष्कर्ष छ।















