भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले संस्थापक सभापति रवि लामिछानेलाई पुनः सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। २०७९ असार ७ गते स्थापना भएको रास्वपाले पहिलो पटक आयोजना गरेको महाधिवेशनबाट लामिछाने सर्वसम्मत नेतृत्वमा चयन भएका हुन्।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका लागि मनोनयन दर्ताको निर्धारित अवधिभित्र लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित घोषित गरिएको हो।
लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए। उक्त प्रस्तावलाई संस्थापक सदस्य, प्रदेश सभापतिहरू तथा यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए। पार्टीको निर्वाचन कार्यविधिअनुसार सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ।
प्रधानमन्त्री शाह स्वयं प्रस्तावक बनेर लामिछानेलाई समर्थन गरेपछि पार्टीभित्र समायोजन र एकताको सन्देश गएको नेताहरूले बताएका छन्। रास्वपा नेता शिशिर खनालले विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका समूहहरूलाई पार्टीभित्र समेट्ने प्रक्रिया महाधिवेशनमार्फत थप सुदृढ भएको बताए।
‘निर्वाचनअघि विभिन्न समूहसँग समायोजन गरेर हामीले पार्टीलाई विस्तार गरेका थियौँ। यो महाधिवेशनले सबैलाई एउटै राजनीतिक यात्रामा एकीकृत गर्ने वातावरण निर्माण गरेको छ,’ खनालले भने, ‘रवि लामिछाने निर्विरोध सभापति निर्वाचित हुनुले उहाँको नेतृत्वमा पार्टी एकढिक्का रहेको सन्देश दिएको छ।’
सभापतिमा प्रस्ताव गरिएपछि लामिछाने र शाह महाधिवेशनस्थल बाहिर समर्थकलाई अभिवादन गर्दै देखिएका थिए।












