२०८३ कार्तिक १३
खाेज्नुहाेस

मन्त्रिपरिषद् विस्तार: गौरी र रामजी मन्त्री बन्दै

Image

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त रहेका दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका छन्। शुक्रबार गरिएको नियुक्तिअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गौरीकुमारी यादवलाई सुम्पिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसअघि श्रम मन्त्रालय दीपक साहलाई बर्खास्त गरेपछि रिक्त रहेको थियो। उक्त जिम्मेवारी अब रामजी यादवले सम्हाल्नेछन्।

यस्तै, सुरुदेखि नै प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि गौरीकुमारी यादवलाई हस्तान्तरण गरिएको छ।

रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधि हुन्।

नवनियुक्त दुवै मन्त्रीको शपथग्रहण आजै हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।