२०८३ कार्तिक १३
खाेज्नुहाेस

पाल्पामा होस्टेलमै कक्षा ११ की छात्राले जन्माइन् बच्चा

Image

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयको छात्राबासमा बस्दै आएकी एक छात्राले होस्टेलमै बच्चा जन्माएकी घटना सार्वजनिक भएको छ । कक्षा ११ मा अध्ययनरत ती छात्राले बिहीबार छोरी जन्माएकी हुन् ।

तिनाउ गाउँपालिका–५ निवासी १६ वर्षीया छात्राले होस्टेलमै प्रसूति भएपछि विद्यालय प्रशासनले आमा र नवजात शिशुलाई परिवारको जिम्मा लगाएको जनाएको छ। विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीका अनुसार उक्त घटना अप्रत्याशित रूपमा बाहिर आएको हो।

“ती छात्रा कक्षा ११ मा पढ्न यहाँ आएकी थिइन्,” प्रअ ज्ञवालीले भने, “कक्षा १० मा अर्को विद्यालयमा अध्ययन गर्दा नै उनी र उनका प्रेमीबीच सम्बन्ध रहेछ भन्ने पछि थाहा भयो। केही महिनाअघि मात्रै उनले राष्ट्रपति रनिङ शिल्डमा भलिबल पनि खेलेकी थिइन्, यस्तो हुन्छ भन्ने हामीले कल्पना गरेका थिएनौं।”

घटनामा संलग्न छात्रा र उनका प्रेमी एउटै गाउँका रहेको खुलेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाका अनुसार दुवै पक्षबीच अहिले समझदारी भइसकेको छ।

“उनीहरू प्रेम सम्बन्धमा रहेछन्, बच्चा जन्मिएपछि मात्रै सबै कुरा थाहा भयो,” थापाले भने, “अविवाहित छात्राले बच्चा जन्माएपछि परिवारलाई खबर गरेर सोही रात जिम्मा लगाइएको हो।”

उक्त छात्राले शिक्षा संकाय लिएर कक्षा ११ मा अध्ययन गरिरहेकी थिइन्। तिनाउ गाउँपालिका–५ की वडा अध्यक्ष इन्द्रकुमारी चिदीका अनुसार छात्रा शारीरिक रूपमा मोटी भएकाले गर्भावस्थाबारे शिक्षक र सहपाठी कसैले पनि थाहा पाउन सकेनन्।

हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।