काठमाडौं– जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका मुकेश अवस्थीकी दिदी आकृति अवस्थी प्रतिनिधिसभा सांसद बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बनाएको हो।
आकृतिले आन्दोलनले उठाएको भ्रष्टाचार अन्त्य, सुशासन र पीडितहरूको न्यायको मुद्दा अब संसदमा उठाउने बताएकी छन्। ‘सडकबाट उठेको आवाजलाई अब सदनमा लैजानेछु,’ उनले भनेकी छन्, ‘जेनजी शहीद र घाइतेहरूको अभिभावक बनेर काम गर्नेछु।’
डडेल्धुराको अमरगढीका २२ वर्षीय मुकेश अवस्थी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए। उनको बायाँ खुट्टा गुमाउनु परेको छ र उनी अहिले पनि उपचाररत छन्। सब–इन्जिनियरिङ अध्ययन सकेका मुकेश अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गरी देश सेवा गर्ने योजनामा थिए, तर आन्दोलनले उनको भविष्य नै बदलिदियो।
आकृतिले शिक्षा र स्वास्थ्यका मुद्दालाई पनि प्राथमिकतामा राख्ने बताएकी छन्। ‘पछाडि परेका क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा आवश्यक छ, शिक्षामा एकरूपता ल्याउनुपर्छ,’ उनले भनिन्।
यसैबीच, जेनजी आन्दोलनकै क्रममा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडा पनि सांसद बनेकी छन्। उनलाई पनि रास्वपाले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाएको हो।
भदौ २३ गते प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना खतिवडा न्यायका लागि सडक आन्दोलनमा सक्रिय भइन्। अब उनले सहिद परिवारको प्रतिनिधित्व गर्दै संसदमा आवाज उठाउने बताएकी छन्।
‘हिजो सडकमा बसेर सहिदहरूका लागि न्याय मागेँ, अब संसदमा त्यही आवाज उठाउनेछु,’ उनले भनेकी छन्, ‘छोरामाथि गोली चलाउनेदेखि आदेश दिने सबैलाई कारबाही हुनुपर्छ।’
४६ वर्षीया रचना यसअघि गृहिणीका रूपमा जीवन बिताउँदै आएकी थिइन्। कुनै राजनीतिक पृष्ठभूमि नभए पनि छोराको मृत्युले उनलाई आन्दोलन र राजनीतितर्फ ल्याएको हो। ‘मेरो आधा जीवन छोरामै बित्यो, अब बाँकी जीवन पनि उसकै न्यायका लागि समर्पित हुनेछ,’ उनले भनिन्।
दुवै महिलाको संसद प्रवेशलाई जेनजी आन्दोलनबाट उठेको आवाजको प्रत्यक्ष राजनीतिक प्रतिनिधित्वका रूपमा हेरिएको छ। सडकमा उठेको न्यायको माग अब संसदमा गुञ्जिने अपेक्षा गरिएको छ।












