२०८३ कार्तिक १२
खाेज्नुहाेस

पर्यटकीय सम्भावना बोकेको किम्नी झरना संरक्षणको पर्खाइमा

Image

बाजुरा-  बाजुराको त्रिवेणी नगरपालिका–५ स्थित किम्नीमा रहेको किम्नी झरना लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय दृष्टिले निकै आकर्षक मानिने यो झरना उचित व्यवस्थापन र संरक्षण नहुँदा ओझेलमा पर्दै आएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रूपमा रहेको किम्नी झरनाको हालसम्म कुनै पनि निकायबाट संरक्षण हुन सकेको छैन । स्थानीयका लागि सम्भावित आयआर्जनको स्रोतका रूपमा रहेको भए पनि संरक्षण अभावकै कारण पछिल्लो समय आन्तरिक पर्यटकको चासो घट्दै गएको त्रिवेणी नगरपालिका–५ का स्थानीय व्यापारी बजिरे बुढाले बताए ।

“यदि वीरे झरनाजस्तै किम्नी झरनाको पनि संरक्षण गरियो भने यहाँका स्थानीयको आयआर्जनमा ठूलो टेवा पुग्ने थियो,” बुढाले भने ।

त्रिवेणी नगरपालिकामा मौर, नाटेश्वरी, मालिका लगायतका स्थानहरू पनि पर्यटकीय गन्तव्यका रूपमा परिचित छन् । तीमध्ये किम्नी झरना पनि एक महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा रहेको स्थानीयहरू बताउँछन् ।

नाटेश्वरी, मालिका र मौर क्षेत्रमा रहेका केही पर्यटकीय स्थलमा संरक्षणका काम भए पनि किम्नी झरना भने अहिलेसम्म उपेक्षित अवस्थामा रहेको बुढाको भनाइ छ ।

यसैबीच, झरनाको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न निकायमा पहल गर्दै आए पनि हालसम्म ठोस परिणाम नआएको त्रिवेणी नगरपालिका–५ का वडा अध्यक्ष डिल्ली बुढाले बताए । उनका अनुसार संरक्षण अभावकै कारण यस्तो महत्वपूर्ण पर्यटकीय स्थल ओझेलमा परेको छ ।