२०८३ भाद्र २५
खाेज्नुहाेस

आहा बडिमालिका यात्रा…….

Image

केही समय पहिले प्रधानमन्त्री बालेन्द्र शाहले बडिमालिका र रामारोशनको बारेमा अभिव्यक्ति दिए पछि यस क्षेत्रमा आउने पर्यटकहरु उल्लेखनीय रुपमा बृद्धि भएको छ ।
पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको नजरमा पर्न सफल बनिरहेको बडिमालिका क्षेत्रमा गत वर्षको मेलामा हाल सम्म कै उच्च सख्यामा पर्यटकहरु पुगे । एकिन तथ्यांक नभए पनि गत वर्षको मेलामा ५० हजार भन्दा वढी पर्यटकहरु बडिमालिका पुगेको अनुमान लगाईएको छ ।


अवको केही दिनमा बडिमालिका क्षेत्रको आखाले हेरी नभ्याउने हरियाली मैदानहरुमा मान्छेको लावा लस्कर देखिने छन् । भाद्र १२ गते नाट्यश्वरी मन्दिरमा रक्षाबन्धन तथा जनैपूर्णिमा भव्य रुपमा मनाईनेछ । त्यो भन्दा पहिले १० र ११ गते बडिमालिकाको त्रिवेणी क्षेत्र र बडिमालिकाधाम क्षेत्रमा हजारौ भक्तजनहरुको भिड लाग्नेछ ।

पछिल्लो समय विभिन्न समाजिक सञ्जालमा राखिएका बढीमालिका क्षेत्रको सुन्दर तस्विर र भिडियोहरुले धेरैलाई बडीमालिका घुम्न उत्प्रेरित गरेको रहेछ । पछिल्ला वर्षहरुमा पूर्वि नेपालका ईलाम, पोखरा, चितवन, गोरखाका यात्रीहरु यूट्युब, फेसबुक तथा टिकटकमा राखिएका भिडियोहरुले आफूहरु लाई बडीमालिका क्षेत्र भ्रमण गर्न उत्प्रेरित गरेको बताइरहेका छन् ।

बडिमालिका पुग्न अछाम, बाजुरा, कालीकोट लगायतका स्थान बाट विभिन्न रुटहरु भए पनि मेलाको समयमा अधिकांस यात्रीहरु बाजुराको सदरमुकाम मार्तडीबाट सोतापाटन, घोडेपाटन, भित्तेछिना र त्रिवेणी हुँदै बढीमालिका जाने रुटलाई रुचाउदा रहेछन् र यस क्षेत्र भन्दा बाहिर बाट आउने अधिकांसले यही रुटको प्रयोग गर्ने गर्दछन ।

मार्तडी बाट पहिलो दिन

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट सुरु हुने पहिलो दिनको यात्रा अलि कष्टकर नै हुने रहेछ धेरैको लागी । धेरैको आत्मविश्वास माथि हमला गर्ने एकदमै ठाडो उकालो बाटोमा करिव ७ घण्टा हिँडेपछी पाती हाल्ने (फूल चढाउने) ठाँउमा पुगेर केही राहत महशुस गरे पनि अझै ३ घण्टा हिँडेपछि मात्र बल्ल बास बस्नका लागि घोडेपाटन पुग्न सकिन्छ भने कोही कोही सोतापाटन सम्म मात्र पुग्ने गर्दछन ।

पाती हाल्ने स्थान

स्वास फेर्न पनि कठिन हुने मार्तडीको त्यो उकालोको केही स्थानमा सामान्य विश्रामस्थलहरु बनाइएका छन । मेलाको समयमा मेला संग संगै गयो भने खाना तथा बासको लागी अस्थाई पसल तथा होटेलहरु भेटिन्छन् । अन्यथा यो रुटमा यात्रा गर्दा आफ्नो लागि आवश्यक पर्ने खाना तथा नाना बोकेर लैजानुको विकल्प छैन रहेछ ।

दोश्रो दिन त्रिवेणी पाटन
मार्तडीबाट यात्रा सुरु गर्ने यात्रीहरुमध्ये अधिकांश यात्रीहरु सोता पाटनमा रहेको खर्कमा पहिलो बास बस्दा रहेछन् भने केही यात्रीहरु मात्र घोडेपाटन वा भित्तिछिन्नासम्म पुग्दा रहेछन् । सोता पाटन, घोडेपाटन र भित्तिछिन्ना यि कुनै पनि ठाँउमा गेष्टहाउस तथा पसलहरु छैनन् । यहाँ रहेका भेडिगोठ र खर्कहरुले यात्रीहरुलाई गाँस र बासमा प्रवन्ध मिलाईदिदा रहेछन् । वा तपाईहरु संग टेन्टहरु छ भने त्यो बेस्ट अप्सन भयो भने खानाका लागी यहांका खर्कमा अनुरोध गर्न सकिन्छ ।

यात्रीहरु लाई गाँस बासको व्यवस्था मिलाईदिने भेडिगोठहरु

दोश्रो दिन केही घण्टाको हिँडाइपछि भेटिने पाटनहरुले पहिलो दिनको थकाईलाई बिर्साईदिन्छ । सुन्दर हरिया घाँसे मैदान, कलकल आवाजसहित बगीरहेका स साना खोला र थेप्चो परेका उकाली ओरालीपछि पुगिने भित्तिछिन्ना माथि आँखैले हेर्ने नभ्याउने विशाल पाटनहरु देख्दा थकान कता पुग्छ ? कसैलाई थाहा नै हुदैन ।

यात्राको दोश्रो दिन अधिकांस यात्रीहरु भित्तिछिन्नाको खर्कमा खाना पुग्ने गरी हिड्ने गर्दछन भने त्यहाँबाट हिडेको करिव १ घण्टामा बुढीमाईको मन्दिर भएको विशाल हरियो पाटनमा पुगेपछि सबैले संसार बिर्सिन्छन । त्यो विशाल हरिया फाँटमा पुग्ने वित्तिकै धेरैको मुखबाट अनायसै आवाज आउछ आहा….।

बाटोमा देखिने अनौठो स्थान…यहाँ दैत्य संग देवताको लडाई भएको विश्वास गरिन्छ ।

प्राचिनकालदेखि भदौ शुक्ल पूर्णिमाको अधिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गरिएको बडिमालिकामा कहिलेदेखि पूजा सुरु भयो भनी एकिन नभए पनि पूजारीको १४ औँ पुस्ताका नेत्रराज उपाध्याय हालका पूजारी हुनुले पनि प्राचिनकालदेखि नै बडिमालिकामा पूजा हुने गरेको विश्वास गर्न सकिन्छ । यद्यपि पछिल्लो समय यस क्षेत्रमा पर्यटकिय दृष्टिकोणले घुम्न आउनेहरु बढिरहेको देख्न सकिन्छ ।

दोश्रो दिनको यात्रामा यस्ता थुप्रै हरिया मैदानहरु देखिन्छन ।

बडिमालिका यात्रामा यात्रीहरु लाई मनमोहक बनाउने दिन सायद यही हुन्छ होला । आखैले नभ्याउने हरिया फाट, कलकल बग्ने त्रिवेणी नदी, किनिमिनीगडा जस्ता थुप्रै हेर्न लायक ठाउहरु दोश्रो दिन भेटिन्छन् ।

यात्राको तेश्रो दिन त्रिवेणी बाट बडिमालीका

तेश्रो दिन त्रिवेणीधाममा स्नान पश्चात सुरु हुने यात्रालाई बाटोले भन्दा पनि त्यहाँको सुन्दरताले अवरोध पुगाउछ घुम्न आउने यात्रुहरुलार्ई । जता हेर्यो सुन्दर दृश्य देखिने अनि सुन्दरतालाई क्यामेरामा कैद गर्ने चक्करमा समय वितेको पत्तै हुदैन ।
समुन्द्रि सतहबाट ४ हजार २१९ मिटरको उचाईमा रहेको लौरीबिनायक बडिमालिका मन्दिर भन्दा १९ मिटर अग्लो छ । लौरी विनायक बसेर केही क्षण बडिमालिका मन्दिरलाई नियाल्दै कालो चिया पिउदै थकाई मार्न पनि उत्तिकै मजाको हुन्छ । भावुक पनि भईन्छ अलौकिक बडिमालिका पुग्नै लागेको खुशीमा ।
निकै कहालीलाग्दो भिर, साघुँरो बाटो, पानि नपाउने उकालो, श्वास फेर्न पनि असहज अनि धेरैलाई लेक लाग्ने डर त्यो बाटोमा अधिकांस यात्रुहरुको खुट्टा लगलग कमाउछ । र बडिमालिकाको दरवारमा पुगे पछी बाटाभरीको त्यो तनाब हराउछ प्रायः सबै यात्रुहरुको ।

तेश्रो दिनको यात्रामा भेटिने यो लौरी विनायक बडिमालिका मन्दिर भन्दा उचो स्थानमा रहेको छ ।

फर्किदाको कहाली लाग्दो त्यो भिर

नमरी स्वर्ग देखिदैन भन्ने उखान बल्ल प्रमाणीत हुन्छ बडिमालिका बाट नाटयश्वरी तर्फ फर्किने बाटोमा हिड्दा । धेरै जनासंग फर्किने बाटो अर्थात नाट्यश्वरी जाने बाटोको बारेमा सोधिखोजी गर्दा बाटो राम्रो नै भएको जवाफ पाउने गरी पनि हिडे पछी थाहा हुन्छ ठिक उल्टो शरीर नै सिरिंग पार्ने भिरको बाटो छ ।

फर्किदाखेरीको कहाली लाग्दो भिर….

सामाजिक संञ्जालमा देखिएका विभिन्न भिडियो हरुमा यो भिर लाई ड्रोन बाट खिचेर डर लाग्दो रुपमा प्रस्तुत गरिएको छ तर बास्तवीकतामा अझै कैयौँ गुणा डर लाग्दो भिर छ ।मनमा भगवान जप्दै त्यो कहाली लाग्दो भिर छिचोलेर कसरी चियागडा भनेर चिनिने ठुलागडा पुगिन्छ थाहा नै हुदैन एकातिर भिरको पिर अर्काे तिर नाट्यश्वरी पुग्ने हतार । छिटो हिड्ने मान्छेहरु नाटयश्वरी पुग्ने गरेपनि हिड्न नसक्नेहरु ठुलागडा तिर नै बास बस्न पुग्छ ।

नाट्यश्वरी मन्दिर जहाँ पुगेर बडिमालिका यात्रा सम्पन्न हुन्छ । यहाँ रक्षाबन्धन र जनै पूर्णिमा भव्य रुपमा मनाइन्छ ।

भोलि पल्ट अर्थात जनै पूर्णिमाको दिन बास बसेको ठुलागडाबाट सामान्य हिडाईमा ४ घण्टा हिडे पछी नाटयश्वरी पुगिन्छ भने नाटयश्वरी पुग्न सफल हुनुभएको छ भने त राम्रै भो
वडिमालिका क्षेत्र प्राकृतिक सुन्दरताले स्वर्गको टुक्राभन्दा कुनै कमी छैन तर संरचना, सुविधा, व्यवस्थापन र व्यवहारले निकै कष्टकर छ बडिमालिकाको यात्रा । पर्यटनमा सबैभन्दा मुख्य कुरो आतिथ्यता हो जस्तो लाग्छ तर यो यात्रमा त्यो करिब धेरै नै कमी रहेको महशुस गर्न सकिन्छ ।

सोतापाटनसम्म पुगेको सडक लाई स्तरोन्नती तथा सोता पाटन, घोडेपाटन र भित्तिछिन्नामा केही व्यवस्थित अतिथि गृहहरु बनाउने सके र विभिन्न स्थानहरुमा शौचालय बनाउन सके बडिमालिका पदयात्रा निकै सहज र यादगार हुने थियो ।

जय बडिमालिका