२०८३ भाद्र ३०
खाेज्नुहाेस

पञ्चेश्वरका अध्यक्षकाे ‘यू–टर्न’

Image

बैतडी- ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले परित्यागको घोषणा गरेका बैतडी–पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द फेरि पार्टीमै सक्रिय रहने भएका छन्।

चन्दले १३ मंसिरमा गरिएको प्रतिनिधि छनोटमा एकलौटी निर्णय र गुटबन्दी भएको आरोप लगाउँदै फेसबुकमार्फत एमाले छाडेको घोषणा गरेका थिए। तर, बुधबार फेरि सामाजिक सञ्जालमै वक्तव्य जारी गर्दै उनले प्रतिनिधि चयनप्रति असन्तुष्टि भएकै कारण आवेगमा आएर पार्टी परित्याग गरेको पोस्ट गरेको स्वीकार गर्दै पुनर्विचार गरेको जानकारी दिएका छन्।

उनका अनुसार, पार्टीका वरिष्ठ नेतृत्वसँग गरेको लामो छलफल र समिक्षापछि आफू एमालेमै सक्रिय रहने निर्णयमा पुगेका हुन्। “महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा मेरो बिमतीका कारण आवेगमा आएर पार्टी परित्याग गरेको विषयमा पार्टीका जिम्मेवार नेतृत्व—पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, योजना आयोग सदस्य डा. हिरा चन्द तथा अन्य नेतासाथको गहन छलफलपछि सकारात्मक निष्कर्षमा पुग्दै पुनः एमालेमा क्रियाशील रहने निर्णय गरेको छु,” चन्दले लेखेका छन्।

चन्द २०७४ र २०७९ दुवै स्थानीय तह चुनावमा नेकपा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक महाधिवेशन प्रतिनिधि हुन चाहेका उनले नाम नपरेपछि पार्टी परित्यागको घोषणा गरेका थिए।