डडेल्धुरा — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले १ हजार ६ सय १२ रुपैयाँ सहयोग गरेका छन्।
विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट बचाएको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर धामीका अनुसार देशले विपद्को सामना गरिरहेका बेला पीडित नागरिकको साथमा उभिनुपर्छ भन्ने भावनाका साथ विद्यार्थीहरूले आफ्नो सानो–सानो बचतबाट रकम संकलन गरी सहयोग गरेका हुन्।
“रकम र उमेर सानो भए पनि विद्यार्थीहरूको सहयोग भावना र मानवताको पाठ ठूलो छ,” प्रधानाध्यापक धामीले भने, “पढाइसँगै दुःखमा परेका मानिसको पीडा बुझ्न र आफ्नो क्षमताअनुसार सहयोग गर्न सिक्नु नै साँचो शिक्षा हो।”
विद्यार्थीहरूको यो प्रयासले बालबालिकामा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ।
प्रधानाध्यापक धामीले ‘सहयोग गर्न धन होइन, मन चाहिन्छ’ भन्दै विपद्को समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार पीडितको सहयोगमा जुट्न आग्रह गरेका छन्।
सानो उमेरमा आफ्नै खाजा खर्च कटाएर विपद्पीडितका लागि सहयोग गर्ने जनज्योति विद्यालयका विद्यार्थीहरूको यो पहलले मानवता र सामाजिक जिम्मेवारीको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।












