डडेल्धुरा-जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा सिल्ट सफाइ गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीद्वारा जारी सार्वजनिक सूचनाअनुसार साउन १३ गते बिहान ६ः०० बजेदेखि साउन १४ गते साँझ ६ः०० बजेसम्म करिब ३६ घण्टा सिल्ट सफाइको कार्य हुनेछ। यस अवधिमा आवश्यकताअनुसार बाँधको ढोका खोलिने जनाइएको छ।
प्रशासनका अनुसार उक्त अवधिमा तथा त्यसपछिसमेत महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक रूपमा नदी नजिक नजान, सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।














