आज गुरु पूर्णिमा पर्व देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको पर्व मनाइने गरिन्छ ।
यस अवसरमा विद्यार्थीहरूले आफ्ना गुरुजनलाई सम्मान गर्दै आशीर्वाद लिने परम्परा निर्वाह गरेका छन् । विद्यालय, क्याम्पस, आश्रम तथा मठमन्दिरहरूमा विशेष पूजा, गुरु वन्दना र सम्मान कार्यक्रम सहित यो पर्व मनाउने गरिन्छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीका लागि विशेष महत्त्व बोकेको गुरु पूर्णिमामा ज्ञानका प्रतीक महर्षि वेदव्यासको स्मरणसमेत गरिन्छ । यही दिन वेदव्यासको जन्म भएको विश्वासका आधारमा यस पर्वलाई ‘व्यास पूर्णिमा’ पनि भनिन्छ ।














