धनगढी- सुदूरपश्चिम विश्वविद्यालयका स्वास्थ्य संकायका डिन डा. होमनाथ जोशीको स्कोर्पियो गाडी लुटिएको घटनामा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ हिमालीटोल निवासी २३ वर्षीय नीराजन कुँवर रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर कैलाश विष्टका अनुसार पक्राउ परेका कुँवरलाई थप अनुसन्धानका लागि धनगढी ल्याइएको छ।
प्रहरी अनुसन्धानअनुसार २०८२ भदौ २५ गते कुँवरसहितको समूहले धनगढी–५ हसनपुरस्थित डिन डा. होमनाथ जोशीको निवासअगाडि पार्किङमा राखिएको बा २ झ २८५९ नम्बरको स्कोर्पियो दिनदहाडै लुटेको थियो।
यस घटनामा संलग्न रहेको आरोपमा कैलाली जिल्ला अदालतले असार ३० गते कुँवरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो।












