कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका बेलडाँडी गाउँपालिकाका तीन महिलाको सकुशल उद्धार गरिएको छ।
बेलडाँडी गाउँपालिका–२, चउन्नी निवासी लक्ष्मी थापा मगर, मञ्जु क्षेत्री र सीता चौधरीलाई सोमबार बिहान निकुञ्जभित्रको लल्लेरी क्षेत्रबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
रणसिंह दल गणका क्याप्टेन सुमन केसीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उनीहरूको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।
ती महिलाहरू आइतबार च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।
यता, भीमदत्त नगरपालिका–१९ को बागफाँटा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका १४ जना महिला भने अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य नेपाल प्रहरी, नेपाली सेना र सम्बन्धित निकायले जारी राखेको जनाएको छ।
सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।












