डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षको तुलनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति बढेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर १ हजार ४७३ सवारी दुर्घटना हुँदा २०५ जनाको मृत्यु भएको छ भने २ हजार ५४३ जना घाइते भएका छन्।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा १ हजार २०३ दुर्घटनामा १९२ जनाको मृत्यु भएको थियो भने २ हजार ४ जना घाइते भएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा ३०९ दुर्घटनामा १७२ जनाले ज्यान गुमाएका थिए भने ५३६ जना घाइते भएका थिए।
यस्तै, पछिल्लो आर्थिक वर्षमा ट्राफिक कारबाही र राजस्व संकलन दुवैमा कमी आएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ३९ हजार २१२ सवारी साधनमाथि कारबाही गरी ३ करोड १८ लाख ८५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा ६१ हजार ५७६ सवारी साधन कारबाहीमा पर्दा ४ करोड ४१ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ४७९ सवारी साधनमाथि कारबाही गरी ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजस्व उठाइएको थियो।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) परीक्षणलाई प्राथमिकता दिँदै आएको भए पनि पछिल्लो आर्थिक वर्षमा मापसे कारबाही घटेको छ। आर्थिक वर्ष २०८२/०८३ मा ३ हजार ६४१ मापसे कारबाहीबाट १९ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। सोही अवधिमा ५६ जना लागुऔषध सेवन (लापसे) सम्बन्धी कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक सचेतना अभिवृद्धिका लागि आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार २०६ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। ती कार्यक्रमबाट १ लाख ९४ हजार ३९७ जना लाभान्वित भएका छन्।












