कालीकोट – कालीकोट र बाजुराको सीमामा अवस्थित बडीमालिकाको त्रिवेणी पाटन पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। वर्षायाममा हराभरा देखिने पाटन, लेकाली सौन्दर्य र प्राकृतिक दृश्यावलोकनका लागि देशका विभिन्न स्थानबाट पर्यटक पुग्न थालेका छन्।
पहिले जनैपूर्णिमाको अवसरमा बडीमालिका मन्दिर दर्शनका लागि मात्रै पुग्ने तीर्थयात्री अहिले वैशाखदेखि असोजसम्म नै त्रिवेणी पाटन हुँदै बडीमालिका भ्रमण गर्न थालेका छन्। समुद्री सतहबाट करिब ४ हजार २१९ मिटर उचाइमा रहेको त्रिवेणी पाटन चारैतिर फैलिएको हरियाली, चरिरहेका भेडाबाख्रा, गाईभैँसी र घोडाका बथानले झनै मनमोहक देखिन्छ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीका अनुसार त्रिवेणीसँगै रहेका ३२ वटा सुन्दर पाटनले पर्यटकलाई फरक अनुभव दिने भएकाले पछिल्ला वर्षहरूमा पूजाको समयबाहेक पनि भ्रमण गर्नेको संख्या बढ्दै गएको छ।
स्थानीय मुस्कान शाहीले त्रिवेणी भएर बग्ने खोला, लेकाली वन, हरियाली फाँट र रंगीचंगी फूलहरूले पाटनलाई थप आकर्षक बनाएको बताउनुभयो। यहाँ एक सयभन्दा बढी प्रजातिका फूल तथा बहुमूल्य जडीबुटी पनि पाइन्छन्।
बडीमालिका दर्शन गरेर फर्किएका निर्माण व्यवसायी गणेश आचार्यका अनुसार पर्यटकको सुविधाका लागि त्रिवेणी पाटनमा धर्मशाला, १०८ धारा, शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गरिएको छ। स्थानीय तहले पनि तीर्थयात्री र पर्यटकलाई लक्षित गर्दै थप आवश्यक संरचना निर्माणको काम अघि बढाइरहेको जनाएको छ।












