२०८३ कार्तिक १३
खाेज्नुहाेस

मुख्यमन्त्री कमलबहादुर शाहद्वारा एमालेका चारै मन्त्री बर्खास्त

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको सत्ता विवादले नयाँ मोड लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले)बाट सरकारमा सहभागी चारै जना मन्त्रीलाई पदमुक्त गरेका छन्।

पदमुक्त हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउद रहेका छन्।

यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई बोलाएर प्रदेश सरकारको बजेटप्रति पार्टीको स्पष्ट धारणा मागेका थिए। सरकारमै बसेर बजेटको विरोध गर्नु उचित नभएको उल्लेख गर्दै उनले बजेट पारित गर्न सहयोग गर्ने, सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने तीनमध्ये कुनै एक विकल्प रोज्न आग्रह गरेका थिए।

कांग्रेस नेतृत्वको प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति एमाले सुरुदेखि नै असन्तुष्ट रहँदै आएको थियो। एमालेका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौती प्रस्तावसमेत दर्ता गरेपछि सत्ता साझेदार दलबीचको विवाद थप चर्किएको थियो। त्यसकै बीच मुख्यमन्त्री शाहले एमालेका सबै मन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरेका हुन्।