कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक महिला बाघको आक्रमणमा परी घाइते भएकी छन्।
आइतबार बेलुका करिब ५ बजे शुक्लाफाँटा जंगलमा घाँस संकलन गर्न गएकी धनादेवी उपाध्यायमाथि बाघले आक्रमण गरेको हो।
घटनापछि स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो।
माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइतेको आवश्यक परीक्षण र उपचार भइरहेको छ। विशेषज्ञ चिकित्सकको निगरानीमा उनको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए।
घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ। साथै, जंगल क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।












