२०८३ कार्तिक १३
खाेज्नुहाेस

कैलालीकी बालविकास शिक्षिकाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

Image

काठमाडौं – कैलालीको जानकी गाउँपालिका–३ स्थित मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा तथा सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले २०६६ मंसिर ३ गते बालविकास शिक्षक पदमा नियुक्ति लिने क्रममा माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (भारत) बाट माध्यमिक तह उत्तीर्ण गरेको भन्दै पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको हो।

आयोगले नक्कली प्रमाणपत्रको आधारमा सरकारी पद, तलब–भत्ता तथा अन्य सुविधा लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गरेको जनाएको छ।

उक्त कसुरमा कैद र जरिवानाको मागदाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालत, काठमाडौं मा शाहीविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।