डडेल्धुरा- सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पहिलोपटक व्यावसायिक रूपमा कफी खेती सुरु गरिएको छ। भागेश्वर गाउँपालिका–४ शानस्थित सान एग्रो इस्टेटले २ हजार वटा अरबिका जातका कफीका बिरुवा रोप्दै जिल्लामा कफी उत्पादनको नयाँ सम्भावना अघि सारेको हो।
युवा कृषक दीक्षित भण्डारी, नितिन चटौत र निश्चल चटौतको संयुक्त पहलमा सञ्चालनमा आएको यस परियोजनामा हालसम्म करिब १५ लाख रुपैयाँ लगानी भइसकेको छ। फार्मका अनुसार कफीका बिरुवा गुल्मीबाट ल्याएर रोपिएको हो।
कफी खेती प्रवर्द्धनका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले बिरुवा खरिदमा ५० प्रतिशत अर्थात् एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। साथै सिँचाइका पाइप, मल तथा खाडल खन्ने मेसिन खरिदमा समेत आवश्यक सहयोग गरिएको कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए।
यस्तै, कृषि विकास निर्देशनालयले पनि कफीका बिरुवा खरिदका लागि ९५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ। कृषि ज्ञान केन्द्रबाट प्राप्त ५० वटा आँप, २५ वटा लिची र ३० वटा कागतीका बिरुवा पनि फार्ममा रोपिएको छ।
फार्मले कफी खेतीका लागि आवश्यक छाहारी व्यवस्थापन पूरा गरिसकेको छ भने उत्पादन बढाउन २० क्विन्टल गड्यौला मल प्रयोग गरिएको जनाएको छ। रोपिएका बिरुवाले करिब तीन वर्षपछि उत्पादन दिन सुरु गर्नेछन्। एकपटक रोपिएको कफीको बिरुवाले करिब २५ वर्षसम्म उत्पादन दिने भएकाले यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा लिइएको छ।
यसैबीच, कृषि ज्ञान केन्द्र डडेल्धुराको अगुवाइमा पत्रकारहरूको टोलीसहित सान एग्रो इस्टेटको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा कफी खेतीको प्रगति, सम्भावना र कृषकको मेहनतबारे जानकारी लिइएको थियो।
कृषि ज्ञान केन्द्रका प्रमुख पनेरुले डडेल्धुराको पहाडी हावापानी र भूगोल कफी खेतीका लागि उपयुक्त रहेको बताए। जिल्लामै पहिलोपटक सुरु भएको यो व्यावसायिक खेती सफल भए अन्य युवाहरू पनि कृषि उद्यमतर्फ आकर्षित हुने अपेक्षा गरिएको छ।












