धनगढी – सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि भएको सामान्य छलफलमा प्रतिपक्ष मात्र होइन, सत्ता साझेदार दलका सांसदहरूले पनि बजेट निर्माण प्रक्रिया र योजना छनोटमाथि प्रश्न उठाएका छन्।
बिहीबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा नियमावली, २०८० अनुसार बजेटसम्बन्धी संक्षिप्त वक्तव्य प्रस्तुत गरेपछि बजेटमाथि सामान्य छलफल भएको थियो।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता खगराज भट्टले बजेट नीति, कार्यक्रम, सिद्धान्त र प्राथमिकताअनुसार नआएको आरोप लगाए। उनले योजना दोहोरिएको, छनोट प्रक्रिया कमजोर रहेको तथा बजेट विनियोजनमा लापरबाही भएको दाबी गरे।
सत्ता साझेदार दल एमालेका नेता चक्रबहादुर मल्लले पनि बजेट निर्माण प्रक्रिया, योजना छनोट र आर्थिक अनुशासनका विषयमा आफ्नो पार्टी सन्तुष्ट नरहेको बताए। उनले छलफलमार्फत देखिएका त्रुटि सच्याएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे।
नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बमले बजेट निर्माणकै क्रममा मन्त्री फेरबदल हुँदा त्यसको प्रभाव बजेटमा परेको बताए। उनले २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने सहमति कार्यान्वयन नभएको र योजना छनोटका मापदण्ड पूर्ण रूपमा पालना नगरिएको टिप्पणी गरे। यद्यपि, धेरै सांसदले प्रस्ताव गरेका योजना समेटिएको भन्दै उनले सकारात्मक पक्षको पनि प्रशंसा गरे।
सांसदहरूको आलोचनापछि जवाफ दिँदै आर्थिक मामिलामन्त्री धामीले सरकारको कुनै गलत नियत नरहेको स्पष्ट पारे। मन्त्री परिवर्तन र समयको अभावका कारण केही योजना दोहोरिएको स्वीकार गर्दै उनले अधिकांश योजना प्रदेशको आवश्यकता र सांसदहरूको सुझावका आधारमा समावेश गरिएको बताए।
उनले अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयबाट आएका योजना समेट्ने क्रममा केही कमजोरी भएको स्वीकार गरे पनि धार्मिक पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका महत्वपूर्ण कार्यक्रम बजेटमा समावेश गरिएको उल्लेख गर्दै सकारात्मक पक्षमाथि पनि छलफल गर्न आग्रह गरे।
बैठकको सुरुवातमा प्रदेशसभा सदस्य नरेश शाही र ललिता सुनारले संघीय सरकारको निर्देशनपछि स्वकीय सचिवहरूको सुविधा भुक्तानीमा समस्या उत्पन्न भएको भन्दै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।












