२०८३ कार्तिक १३
खाेज्नुहाेस

जेन्जी आन्दोलनमा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको स्कारपियो बरामद

Image

धनगढी – जेन्जी आन्दोलनका क्रममा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ। गाडीको बाहिरी स्वरूप परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दै आएको बा २ झ २८५९ नम्बरको सरकारी स्कारपियो अज्ञात ७–८ जनाको समूहले लुटेर लगेका थिए।

प्रहरीले घटनापछि निरन्तर खोजी गरिरहेको अवस्थामा असार ८ गते घोडाघोडी नगरपालिका–२ स्थित लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र उक्त गाडीको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार उक्त उद्योग सञ्चालन गर्दै आएका अर्जुन कार्कीलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानबाट गाडीलाई चिनिन नसक्ने बनाउन यसको बाहिरी बनावट परिवर्तन गरिएको खुलेको छ।

घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले फरार व्यक्तिहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ।