२०८३ कार्तिक १३
खाेज्नुहाेस

कैलालीमा ‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी चौधरी स्पष्टिकरणका लागि जिल्ला तानिए

Image

धनगढी- कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टिकरणका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषधविरुद्धको सचेतना कार्यक्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरीले उनीसँग घटनाबारे सोधपुछ गर्ने निर्णय गरेको हो।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य बुझ्न तथा आवश्यक स्पष्टिकरण लिन जिल्ला बोलाइएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार उक्त अभिव्यक्तिबाहेक डीएसपी चौधरीविरुद्ध आएका अन्य गुनासोबारे पनि सोधपुछ गरिनेछ। साथै, पेशागत आचारसंहिताअनुसार जिम्मेवारी निर्वाह गर्न आवश्यक सुझाव र सम्झाइबुझाइ समेत गरिने जनाएको छ।

कार्यक्रमका क्रममा चौधरीले “अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो” भन्दै प्रहरी संगठनको निष्पक्ष भूमिकाबारे धारणा व्यक्त गरेका थिए। उनले आफूहरू राजनीतिक प्रभावबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा आएको उल्लेख गर्दै “हामी भोट, टीका वा दारुभात खाएर आएका होइनौँ” समेत बताएका थिए।

भाषणपछि उपस्थित विद्यार्थीहरूले ताली बजाएको भिडियोमा देखिन्छ। कार्यक्रममा भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो। त्यसपछि अभिव्यक्तिलाई लिएर चर्चा र विवाद बढेपछि जिल्ला प्रहरीले घटनाको सन्दर्भ बुझ्न उनलाई बोलाएको जनाएको छ।