२०८३ कार्तिक १३
खाेज्नुहाेस

कञ्चनपुरमा खैरो हेरोइन र लागूऔषधसहित ३ जना पक्राउ

Image

कञ्चनपुर- कञ्चनपुरमा छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन र नियन्त्रित लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

बुधबार राति भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित एक घरबाट २ ग्राम ४० मिलिग्राम खैरो हेरोइनसहित २२ वर्षीय कमल दमाई र २२ वर्षीय शाहिल दमाई पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले कमल दमाईको कोठामा लागूऔषध सेवन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी भीमदत्त नगरपालिका–४ बजार क्षेत्रमा गरिएको अर्को कारबाहीमा बेतकोट नगरपालिका–१ पिपलथला घर भई हाल भीमदत्त–४ मा डेरा गरी बस्ने २२ वर्षीय गोविन्दबहादुर साँउद पक्राउ परेका छन्।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा डाइजापाम २ एम्पुल, ब्रोफिन नाफडा ८ एम्पुल, फेनारगन ८ एम्पुल तथा ३ वटा सिरिन्ज बरामद गरेको जनाएको छ। गोप्य सूचनाको आधारमा गरिएको कारबाहीबाट लागूऔषध फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।