२०८३ कार्तिक १३
खाेज्नुहाेस

अत्तरियामा ‘प्र्याङ्क भिडियो’को नाममा नागरिक अपमानित, कारबाहीको माग

Image

धनगढी-  सामाजिक सञ्जालमा लाइक, भ्यु र आम्दानी बढाउने उद्देश्यले बनाइने ‘प्र्याङ्क भिडियो’को नाममा सर्वसाधारणलाई दुःख दिने, अपमानित गर्ने र मानसिक तनावमा पार्ने गतिविधि सुदूरपश्चिममा बढ्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

विशेषगरी कैलालीको धनगढी, अत्तरिया र आसपासका बजार क्षेत्रमा राहदानी हिँडिरहेका नागरिकलाई लक्षित गरी बिना सहमति भिडियो खिच्ने, जिस्क्याउने, झुक्याउने, डर देखाउने तथा सार्वजनिक रूपमा अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा लगातार सार्वजनिक भइरहेका छन्।

पछिल्लो समय ‘योगेश थापा’ नामक फेसबुक अकाउन्टबाट अपलोड गरिएका केही भिडियोहरू व्यापक रूपमा भाइरल बनेका छन्। ती भिडियोमा सडकमा हिँडिरहेका सर्वसाधारणलाई उनीहरूको अनुमति बिना विभिन्न बहानामा असहज अवस्थामा पारिएको देखिन्छ।

अत्तरिया क्षेत्रका स्थानीयले यस्ता गतिविधिले नागरिकको व्यक्तिगत सम्मान, गोपनीयता र मानसिक स्वास्थ्यमा असर पुग्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

स्थानीयका अनुसार केही भिडियो प्रहरीकै उपस्थितिमा खिचिएको देखिए पनि हालसम्म प्रभावकारी कारबाही नभएकाले यस्ता गतिविधि झन् बढ्दै गएको छ। उनीहरूले सामाजिक सञ्जालबाट लोकप्रियता र आर्थिक लाभ कमाउने नाममा नागरिकको अधिकारमाथि खेलबाड गर्न नदिन सम्बन्धित निकायले आवश्यक कानुनी कदम चाल्नुपर्ने माग गरेका छन्।