२०८३ कार्तिक १३
खाेज्नुहाेस

गौरीफन्टा नाकामा सुरक्षा सतर्कता बढाइयो, स्निफर डगसहित सघन चेकजाँच

Image

कैलाली– भारतसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सीमा क्षेत्रबाट हुन सक्ने अवैध गतिविधि नियन्त्रण र शान्ति–सुरक्षा मजबुत बनाउन नेपाल प्रहरीले स्निफर डगसहित सघन सुरक्षा जाँच सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार नेपाल प्रवेश गर्ने तथा भारततर्फ जाने यात्रु, सवारीसाधन र सामानको सूक्ष्म रूपमा जाँच भइरहेको छ। लागूऔषध, विस्फोटक पदार्थ, अवैध सामग्री तथा अन्य शंकास्पद वस्तु पहिचान गर्न तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको उनले बताए।

प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएकाले यात्रुलाई आवश्यक परिचयपत्र साथमा राख्न र सुरक्षा जाँचमा सहयोग गर्न आग्रह गरेको छ।

सुरक्षा जाँचलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित निकायबीच समन्वय गरेर निगरानी बढाइएको छ। सीमा नाकाबाट हुने कुनै पनि गैरकानुनी गतिविधि नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।