डडेल्धुरा – डडेल्धुरामा बंगुरमा अफ्रिकन स्वाइन फिभर (एएसएफ) संक्रमण पुष्टि भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाभरका बंगुर तथा सुँगुरपालक किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
केन्द्रका अनुसार पछिल्ला केही दिनयता जिल्लाका विभिन्न स्थानका बंगुरमा अस्वाभाविक रूपमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागमा रातो दाग देखिने, शरीर निलो हुने, खाना नखाने, बान्ता गर्ने, पखाला लाग्ने, सास फेर्न गाह्रो हुने तथा हिँडडुलमा समस्या देखिने लक्षणहरू देखिएका थिए। यस्ता लक्षण देखिएका केही बंगुरको मृत्यु भएपछि प्राविधिक टोलीले प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको थियो।
अनुगमनका क्रममा संकलन गरिएको नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। र्यापिड टेस्ट किटबाट गरिएको प्रारम्भिक परीक्षणमा अफ्रिकन स्वाइन फिभर संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. सुशील ऐरीले जानकारी दिए। उनले अन्तिम प्रयोगशाला पुष्टि (कन्फर्मेटरी टेस्ट) का लागि नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको बताए।
संक्रमण नियन्त्रणका लागि केन्द्रले सबै बंगुर तथा सुँगुरपालकलाई बायो–सिक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ। फार्म र वरपरको क्षेत्र नियमित सरसफाइ गर्ने, चुना, ब्लीचिङ पाउडर, फर्मालिन तथा भिरकोन–एसजस्ता निसंक्रमण सामग्री प्रयोग गर्ने, बिरामी देखिएका बंगुरलाई तुरुन्त अलग्गै राख्ने तथा शंका लागेमा प्रयोगशाला परीक्षण गराउन केन्द्रले सुझाव दिएको छ।
यस्तै, मरेका बंगुरलाई सुरक्षित रूपमा गाड्ने वा जलाउने, घरेलु बंगुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने, होटल तथा रेस्टुरेन्टबाट निस्कने जुठो खाना नखुवाउने, बंगुरको अनियन्त्रित ओसारपसार नगर्ने तथा संक्रमण देखिएको फार्मबाट बंगुर खरिद–बिक्री नगर्न पनि किसानलाई अनुरोध गरिएको छ।
डा. ऐरीका अनुसार अफ्रिकन स्वाइन फिभर बंगुर र सुँगुरमा फैलिने अत्यन्त संक्रामक भाइरल रोग हो। यद्यपि यो रोग मानिसमा नसर्ने भएकाले मानव स्वास्थ्यका लागि प्रत्यक्ष जोखिम भने नरहेको उनले स्पष्ट पारे।












