बैतडी – बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा करिब दिउँसो ३ बजे दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा १७ जना यात्रु घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
घाइते सबैको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।












