महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रमअन्तर्गत विद्यार्थी संख्या (कोटा) थप गर्ने निर्णय गरेपछि विश्वविद्यालयमा विद्यार्थी आन्दोलन चर्किएको छ। यसअघि आंगिक क्याम्पस बनाउने निर्णय कार्यान्वयन नगरी निजी कलेजलाई प्राथमिकता दिइएको भन्दै विद्यार्थी आक्रोशित बनेका हुन्।
विद्यार्थीका अनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित हालका आंगिक तथा आंगिक बनाउने निर्णय भएका क्याम्पस व्यवस्थापन अभावका कारण लथालिङ्ग अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा सरकारी क्याम्पसको गुणस्तर सुधार गर्नुको सट्टा निजी कलेजलाई नयाँ अवसर उपलब्ध गराएर सार्वजनिक शिक्षालाई कमजोर बनाउने प्रयास भइरहेको उनीहरूको आरोप छ।
यही विषयलाई लिएर विद्यार्थीले बुधबार विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्दको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। केन्द्रीय क्याम्पसमा रहेको बीएस्सी सिएसआइटी कार्यक्रम सुधार गर्नुपर्ने माग राख्दै निजी कलेजलाई थप विद्यार्थी कोटा दिने निर्णय फिर्ता लिन उनीहरूले दबाब दिएका छन्।
विश्वविद्यालयले गत जेठ २६ गते सम्बन्धन प्राप्त निजी कलेजलाई चालु शैक्षिक सत्रका लागि बीएस्सी, सिएसआइटी र बीबीए कार्यक्रम सञ्चालनमा थप विद्यार्थी भर्ना गर्न अनुमति दिने निर्णय गरेको थियो। यसअघि कञ्चनपुरका भानु, महाकाली र बैजनाथ क्याम्पसलाई आंगिक बनाउने निर्णय कार्यान्वयन नगरी निजी कलेजलाई प्राथमिकता दिएको भन्दै विश्वविद्यालय नेतृत्वको आलोचना भइरहेको छ।
हाल निजी कलेजको भौतिक पूर्वाधार र क्षमता अध्ययन गरी थप विद्यार्थी कोटा निर्धारण गर्न विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्द तथा व्यवस्थापन संकायका डिन केशवराज भट्टको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। अध्ययन टोली फिल्डमा रहेका बेला विश्वविद्यालयभित्रको विवाद झन् चर्किएको हो।
यसबीच विज्ञान तथा प्रविधि संकाय (सिएसआइटी) प्रमुख कर्णदेव भट्टले कार्यविधिविपरीत निजी कलेजलाई लाभ पुग्ने गरी विद्यार्थी कोटा थप्ने निर्णयमा आर्थिक चलखेल भएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा लगाउँदै आएका छन्।
यता विज्ञान तथा प्रविधि संकायका डिन भवानी चन्दले भने आफू विश्वविद्यालयको निर्देशनअनुसार मात्र स्थलगत अध्ययनमा खटिएको स्पष्ट पारे। आफ्नै संकायका सहकर्मीलाई पटक–पटक आग्रह गर्दा पनि सहभागी नभएकाले त्रिभुवन विश्वविद्यालयबाट विज्ञ ल्याएर अध्ययन गरिएको उनले बताए।
उनले पोखरा, तुलसीपुर, नेपालगञ्ज, चितवन र काठमाडौंका कलेजको अध्ययन गरेर प्राप्त तथ्यका आधारमा प्रतिवेदन बुझाइने उल्लेख गर्दै निजी कलेजलाई पोस्ने वा आर्थिक चलखेल भएको आरोप निराधार रहेको दाबी गरे।
व्यवस्थापन संकायतर्फ डिन केशवराज भट्ट नेतृत्वको टोलीमा विज्ञ हरिशंकर पन्त र वीरेन्द्रप्रसाद भट्ट सहभागी छन्। डिन भट्टले व्यवस्थापन संकायतर्फ दुई निजी कलेजको मात्रै भौतिक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाइने जानकारी दिए। उनले आफूहरूमाथि कुनै दबाब नभएको र फिल्डमा देखिएका वास्तविक तथ्यकै आधारमा प्रतिवेदन तयार गरिने बताए।
यसैबीच सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले विश्वविद्यालयको हित तथा आन्तरिक आम्दानी बढाउने उद्देश्यले सम्बन्धन प्राप्त निजी कलेजको मागअनुसार विद्यार्थी कोटा थप गर्ने निर्णय गरिएको स्पष्ट पारे।
उनका अनुसार कुनै नयाँ शैक्षिक कार्यक्रम स्वीकृत गरिएको छैन। पहिलेदेखि सञ्चालनमा रहेका कलेजलाई विज्ञ टोलीको प्रतिवेदनका आधारमा मात्रै थप विद्यार्थी भर्नाको अनुमति दिने तयारी गरिएको हो।
उपकुलपति पाठकले निजी कलेजमा आफ्नो सेयर रहेको वा आफन्तलाई रोजगारी दिलाएको जस्ता आरोपलाई अस्वीकार गर्दै ती सबै आरोप निराधार भएको दाबी गरे। यद्यपि विश्वविद्यालय नेतृत्वले लिएको यो नीतिगत निर्णयले सार्वजनिक क्याम्पसको भविष्य र विश्वविद्यालयको दीर्घकालीन शैक्षिक गुणस्तरमा असर पर्ने चिन्ता भने विद्यार्थी र सरोकारवालामाझ बढ्दै गएको छ।












