काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी छन् । मन्त्री चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्य समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी हुन् ।
सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय एवं तरिका सिफारिस गर्नु पर्नेछ ।
त्यसैगरी, विगतका आयोगहरुको सिफारिस अध्ययन गर्नुका साथै आयोग बनाउनु पर्ने भए सो आयोगको टीओआर सहित तयार गरी पेस गर्नु पर्नेछ ।
वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुन्जसँग स्तरउन्नती सम्मका गतिविधिमा निकुन्ज क्षेत्र भित्र रहेको वस्ती स्थानन्तरण गर्दाको जग्गा सम्बन्धी विभिन्न समस्याहरु हालसम्म पनि समाधान हुन नसकेकाले सो निकुन्जबाट विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि सो समिति गठन गरिएको मन्त्री चौधरीले बताएकी छन् ।














