कञ्चनपुर – लामो खडेरी, अत्यधिक गर्मी र भूमिगत जलसतह घट्दै जाँदा कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडामा खानेपानीको गम्भीर समस्या देखिएको छ। गाउँका अधिकांश हाते नल सुकिसकेपछि स्थानीय बासिन्दा बिहानैदेखि सीमित नलमा पानी भर्न लामो लाइन बस्न बाध्य भएका छन्।
पहिले घरघरमै सहज रूपमा उपलब्ध हुने पानी अहिले दुर्लभ बन्दै गएको छ। गाउँमा अहिले केही होचो भूभागमा रहेका दुई–चार वटा हाते नलबाट मात्रै पानी आइरहेको छ, जसमा सयौं स्थानीयको निर्भरता बढेको छ।
स्थानीयका अनुसार बिहान ४ बजेदेखि नै पानीका लागि पालो कुर्नुपर्ने अवस्था छ। महिलादेखि वृद्धवृद्धा र बालबालिकासम्म पानीको जोहोमा समय खर्चिन बाध्य भएका छन्। पानी अभावका कारण दैनिक जीवन, सरसफाइ, खाना पकाउने काम तथा पशुचौपायाको व्यवस्थापनसमेत प्रभावित भएको छ।
यस वर्ष कञ्चनपुरमा तापक्रम करिब ४३ डिग्री सेल्सियससम्म पुगेको थियो। लामो समय वर्षा नहुँदा भूमिगत पानीको सतह घट्दै गएको र त्यसकै असरस्वरूप हाते नल सुक्न थालेको स्थानीयको भनाइ छ। नजिकैका खोला पनि खडेरीका कारण सुकिसकेका छन्।
स्थानीयले वर्षौँदेखि अधुरो रहेको खानेपानी आयोजनाप्रति असन्तुष्टि जनाएका छन्। करिब आठ वर्षअघि सुरु गरिएको खानेपानी आयोजना अन्तर्गत पानी सङ्कलन ट्यांकी निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा आयोजना अझै सञ्चालनमा आउन सकेको छैन।
वेदकोट खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बजेट अभावका कारण आयोजना सम्पन्न हुन नसकेको जनाएको छ। सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल भइरहेको समितिको भनाइ छ।












