डडेल्धुरा– भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भारतको उत्तराखण्डस्थित एनएचपीसी लिमिटेडको धौलीगंगा पावर स्टेशन, धारचुला–पिथौरागढले सिल्ट सफाइका लागि बाँधको ढोका खोल्ने जानकारी प्राप्त भएको जनाएको छ।
सूचनाअनुसार असार १२ गते शुक्रबार बिहान ६ बजेदेखि असार १३ गते शनिबार अपराह्न ५ बजेसम्म करिब ३५ घण्टा सिल्ट सफाइको कार्य सञ्चालन हुनेछ। उक्त अवधिमा बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीद्वारा जारी सूचनामा महाकाली नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ।
प्रशासनले बाँध खोलिने अवधि सकिएपछि पनि केही समयसम्म नदीमा जलस्तर बढिरहन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।












