२०८३ कार्तिक १३
खाेज्नुहाेस

रामारोशन–चाका क्षेत्रमा बाजुराको दाबी, साइनबोर्ड राखिएपछि विवाद चर्कियो

Image

अछाम- अछामको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशन–चाका स्थित ऐतिहासिक चाकाकी माई मन्दिर क्षेत्रमा बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाले उक्त स्थान आफ्नो क्षेत्रभित्र पर्ने दाबी गर्दै साइनबोर्ड राखेपछि विवाद उत्पन्न भएको छ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले उक्त कदमप्रति कडा आपत्ति जनाउँदै चाकाकी माई मन्दिर अछाम जिल्लाको रामारोशन क्षेत्रभित्र पर्ने स्पष्ट धार्मिक तथा पर्यटकीय सम्पदा भएको दाबी गरेको छ।

समितिका अनुसार भौगोलिक यथार्थ र प्रशासनिक सीमाना स्पष्ट हुँदाहुँदै पनि अन्य जिल्लाको स्थानीय तहले आफ्नो क्षेत्र दाबी गर्दै साइनबोर्ड राख्नु गम्भीर त्रुटिपूर्ण कदम हो, जसले अनावश्यक विवाद सिर्जना गर्ने र क्षेत्रीय शान्ति तथा सद्भावमा असर पार्ने खतरा रहेको छ।

समितिले यस्तो गतिविधिले दुई जिल्लाका नागरिकबीच भ्रम फैलाउने मात्र नभई दीर्घकालीन रूपमा आपसी सम्बन्धमा तिक्तता बढाउन सक्ने चेतावनी दिएको छ।

सम्बन्धित निकायलाई तत्काल उक्त साइनबोर्ड हटाउन र भविष्यमा यस्ता विवादास्पद कार्य नगर्न कडा रूपमा सचेत गराउँदै समितिले स्पष्ट सीमाना विपरीतका एकतर्फी दाबी स्वीकार्य नहुने जनाएको छ।

रामारोशन क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण सबै पक्षको साझा जिम्मेवारी भएको भन्दै समितिले संवेदनशील स्थानमा उत्पन्न हुने यस्ता विवादले विकास र पर्यटन प्रवर्द्धनमा समेत नकारात्मक असर पार्ने उल्लेख गरेको छ।