काठमाडौं – कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट तथा आगलागीमा नेपाली श्रमिकसमेत घाइते भएको कतारी अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा १३ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। मृतकहरू भारतीय र पाकिस्तानी नागरिक रहेको जनाइएको छ। घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन।
ऊर्जा मामिलासम्बन्धी राज्यमन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद बिन शेरिदा अल–काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा नेपालीसहित कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली तथा नाइजेरियाली नागरिक घाइते भएको जानकारी दिएका हुन्।
उनका अनुसार घाइतेमध्ये कसैको अवस्था गम्भीर छैन र सबैले आवश्यक उपचार पाइरहेका छन्। घटनापछि कतारमा कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे चासो बढिरहेका बेला कतारी अधिकारीहरूले घाइते नेपालीसहित सबै घाइतेको अवस्था स्थिर रहेको बताएका छन्।
अल–काबीले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कतार इनर्जीका अनुसार बरजान ग्यास प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मतसम्भारका लागि बन्द रहेको थियो। दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र उक्त प्लान्ट पुनः सञ्चालनमा ल्याइएको थियो।
अल–काबीले घटनालाई सञ्चालनसम्बन्धी दुर्घटना भएको उल्लेख गर्दै यसमा कुनै तोडफोड, आक्रमण वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पारे। उनका अनुसार कतार इनर्जीको आपत्कालीन उद्धार टोली र कतार सिभिल डिफेन्सले आगो छिट्टै नियन्त्रणमा लिएका थिए।
कतार इनर्जीले दुर्घटनाबाट एलएनजी उत्पादन केन्द्र, रस लाफान बन्दरगाह, निर्यात प्रणाली तथा अन्य ऊर्जा आपूर्ति सञ्जालमा कुनै असर नपरेको जनाएको छ। कम्पनीका अनुसार घटनाबाट भएको क्षतिको मूल्याङ्कन तथा कारणबारे अनुसन्धान जारी छ।
अल–काबीले कतारसँग पर्याप्त ग्यास भण्डार तथा वैकल्पिक आपूर्ति क्षमता रहेकाले ग्यास निर्यात र आन्तरिक आपूर्तिमा कुनै समस्या नआउने दाबी गरेका छन्।












