२०८३ भाद्र २५
खाेज्नुहाेस

अमेरीकाको अष्टिनमा सेप्टेम्बर ५ मा गौरा पर्व भव्य रूपमा मनाइँदै

Image

सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजनामा टेक्सास राज्यको राजधानी अष्टिनमा यस वर्षको गौरा पर्व भव्य रूपमा मनाइने भएको छ।

‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो एकता’ भन्ने नाराका साथ आगामी सेप्टेम्बर ५ मा अष्टिनस्थित पशुपती मन्दिरमा गौरा पर्व आयोजना गर्न लागिएको हो। कार्यक्रममा लोक गायक तथा सांस्कृतिक प्रस्तोता शंकर सिंह बिष्ट र लोक तथा देउडा गायिका चाँदनी मल्लको विशेष सांगीतिक प्रस्तुति रहने आयोजक सुदूरपश्चिम नेपाली समाज टेक्ससले जनाएको छ।

सुदूरपश्चिम नेपाली समाज टेक्ससको आयोजना तथा ग्रेटर अष्टिन नेप्लिज सोसाइटीको सहयोगमा हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र लोक संस्कृतिको प्रस्तुति रहनेछ।

गौरा सुदूरपश्चिमेली समुदायको प्रमुख मौलिक पर्व हो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वले सुदूरपश्चिमको कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

सुदूरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष गगन केसीले गौरा पर्वको तयारी तीव्र रूपमा भइरहेको बताए। उनले प्रवासमा रहे पनि आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए।

उनका अनुसार कार्यक्रममा अष्टिन तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। गौरा पर्वका अवसरमा सांस्कृतिक कार्यक्रमसँगै सुदूरपश्चिमको मौलिक पहिचान झल्काउने विभिन्न प्रस्तुति पनि गरिने आयोजकले जनाएको छ।