कैलालीको चिसापानी क्षेत्रमा पर्यटकिय सम्भावना बोकेको र शाहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाईडिंगको सम्भाव्यता अध्ययन सुरु भएको छ ।
सुदुरपश्चिम प्रदेस सरकार, उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कैलालीको आयोजना तथा सि.के. रिसर्च एण्ड ग्रिनरी प्रमोसन प्रा.ली. गोकर्णेश्वरको प्राविधिक सहयोगमा कैलालीको राँजकाँडा-डुँडेझारी प्याराग्लाईडिंगको सम्भाव्यता अध्ययन सुरु भएको हो ।

पछिल्लो समय कैलालीको चिसापानी क्षेत्रमा पर्यटकिय गन्तव्यहरु बढीरहेको सन्दर्भमा यस क्षेत्रमा सम्भावना बोकेको प्याराग्लाईडिंगको अध्ययन गर्न लागीएको सि.के.रिसर्चका अध्यक्ष छिन्डुम मेनाक्पा भोटेले बताउनुभयो ।
अध्ययन टोलीले त्यस क्षेत्रमा प्यारा ग्लाईडिंगले पार्ने सामाजिक, आर्थिक र सांस्कृतिक प्रभावका बारेमा विभिन्न सरोकारवालाहरु संग छलफल, भौगोलिक अध्ययन, विभिन्न तहको अन्तरक्रिया गरिरहेको अध्ययन टिमका प्रमुख प्राध्यापक डा. प्रेम शर्माले बताउनुभयो । कार्यक्रममा अध्ययनका क्षेत्रहरु तथा अध्ययनका क्रममा देखिएका नतिजाहरुको बारेमा विज्ञ सुदिल आचार्यले प्रस्तुत गरेका थिए ।

अध्ययनको क्रममा लम्कि चुहा नगरपालिका वडा नं.३ को कार्यालयमा वडाका अध्यक्ष लव बहादुर शाहीको अध्यक्षतामा स्थानिय सरोकारवालाहरु संग अन्तरक्रिया तथा शुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । मोहन्याल गाँउपालिका वडा नं. ७ का अध्यक्ष नवराज कठायत लगायत स्थानिय सामुदायिक बन प्रतिनिधि, स्थानीय पर्यटन व्यवसायी, सुरक्षा निकाय प्रतिनिधि, स्थानीय होमस्टे संञ्चालक, मन्दिर व्यवस्थापन समिति प्रतिनिधि, होटल व्यवसायी, स्थानिय जनप्रतिनिधि र संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय इकाईका प्रमुख डवल बहादुर बोहराले मन्त्रालयको तर्फ बाट पर्यटनको क्षेत्रमा थुप्रै कामहरु गर्न खोजीरहेको र स्थानिय तथा नीजित क्षेत्रको पनि उत्तिकै भुमिका हुनुपर्ने बताए ।

कार्यक्रममा प्याराग्लाईडिंग पाईलट राम प्रसाद राईले परिक्षण उडानको क्रममा देखिएको प्राविधिक पक्षको बारेमा जानकारी दिदै मोहन्याल गाँउपालिका वडा नं.७ मा रहेको राजकाँडाको जालपादेबी मन्दिर वा हात्तिढुंगा बाट सहजै उडाउन सकिने र लम्कीचुहाको वडा नं.३ को बलचौर आसपासमा अवतरण गर्न सकिने र बिकल्पको रुपमा कर्णली नदिको किनारामा पनि अवतरण गर्न सकिने बताएका थिए ।













