बैतडी- एक समय हरियालीले ढाकिने बैतडीका गाउँबस्तीका खेतबारी पछिल्ला वर्षहरूमा बाँझिँदै जान थालेका छन्। खेतबारीमा हुलका हुल बाँदर पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानहरू खेतीपातीबाट निरुत्साहित बन्दै गएका हुन्।
स्थानीयका अनुसार वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्न नपाउँदै बाँदरले नष्ट गर्न थालेपछि कृषिप्रति आकर्षण घट्दै गएको छ। जिल्लाका अधिकांश गाउँमा बाँदरको बिगबिगी बढेसँगै खेतीयोग्य जमिन प्रयोगविहीन रहने क्रम समेत बढिरहेको छ।
दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्याउने गरेकाले खेती गर्न नै उत्साह हराएको बताए।
“सदरमुकाम गोठालापानी आसपासका गाउँमा केही वर्षअघिसम्म फलफूल, तरकारी र अन्नबालीले भरिने खेतबारी अहिले बाँझिन थालेका छन्,” उनले भने, “बाली लगाउँदा पनि बाँदरले नष्ट गर्छ, पाकेपछि पनि जोगाउन सकिँदैन।”
पाटन नगरपालिका–३ की निर्मला भट्टका अनुसार बाँदर आतङ्कले गाउँको स्वरूप नै परिवर्तन गर्न थालेको छ। पहिला हरियालीले ढाकिएका खेतबारी अहिले बाँझो देखिन थालेका छन्।
उनले आफ्नो १८ रोपनी खेतमध्ये अधिकांश जमिन प्रयोगविहीन बनेको बताइन्। “एक सिजनमा पाँच–छ लटसम्म मकै फल्ने खेतमा चार वर्षदेखि मकै लगाउन छाडेकी छु,” उनले सुनाइन्।
स्थानीयका अनुसार बाँदरले बाली उम्रिन थालेदेखि नै खेतमा प्रवेश गरेर बोट उखेल्ने, बाला च्यात्ने तथा पाकेका फलफूल नष्ट गर्ने गर्छन्। खानेभन्दा बढी बाली तहसनहस पार्ने प्रवृत्तिका कारण किसान थप समस्यामा परेका छन्।
घरनजिकका खेतबारी जोगाउन परिवारका सदस्य पालैपालो कुरुवा बस्नुपर्ने अवस्था रहेको किसानहरूको गुनासो छ।
सुर्नया गाउँपालिका–३ का नरेन्द्र धामीले खेतीबाट उत्पादनभन्दा क्षति बढी हुन थालेपछि धेरै किसानले खेत बाँझै छाड्न थालेको बताए। उनका अनुसार मकै, कोदो, धानजस्ता परम्परागत बाली मात्रै होइन, लसुन, प्याज, आरु, घिरौँला र चिचिन्डाजस्ता बालीसमेत बाँदरले नष्ट गर्ने गरेका छन्।
“मेरो पाँच रोपनी जमिन अहिले बाँझो छ,” उनले भने।
दोगडाकेदार, शिवनाथ, सुर्नया, पञ्चेश्वर, मेलौली, पाटन र दशरथचन्दलगायतका स्थानीय तहमा बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन क्रमशः प्रयोगविहीन बन्दै गएको स्थानीय बताउँछन्। खेतीपाती गर्न नसकेर करिब एक हजार दुई सय घरधुरीले गाउँ नै छाडिसकेको दाबी उनीहरूको छ।
मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टका अनुसार किसानहरू अहिले बाँदरले नोक्सान नगर्ने वैकल्पिक बालीको खोजीमा छन्। मकै, कोदो र तरकारीजस्ता बाली जोगाउन कठिन भएपछि पछिल्लो समय धेरै किसान हल्दो खेतीतर्फ आकर्षित हुन थालेका छन्।
बाँदरले बालीनालीमा मात्रै होइन, मानिसमाथि पनि आक्रमण गर्न थालेको स्थानीयको भनाइ छ। खेतबारीबाट लखेट्न जाँदा कतिपयलाई टोक्ने घटनासमेत हुने गरेका छन्। दशरथचन्द नगरपालिका निवासी बहादुर भट्टका अनुसार केही स्थानमा घरभित्र भण्डारण गरेर राखिएको मकैसमेत बाँदरले झिकेर लैजाने गरेका छन्।
स्थानीयवासीका अनुसार केही वर्षअघिसम्म फाट्टफुट्ट देखिने बाँदर अहिले ठूलो समूहमा देखिन थालेका छन्। वन क्षेत्र विस्तार, गाउँबाट बढ्दो बसाइँसराइ तथा खाद्यान्नको खोजीमा बाँदर बस्ती नजिक झर्ने क्रम बढेसँगै समस्या झन् जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन्।
बाँदर आतङ्कका कारण कृषि उत्पादनमा गिरावट आउनुका साथै गाउँको अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पर्न थालेको छ। स्थानीयवासीले समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन पटक–पटक माग गरे पनि हालसम्म ठोस कार्यक्रम कार्यान्वयन हुन सकेको छैन।
जनप्रतिनिधिहरूका अनुसार विभिन्न वडाबाट बाँदरको समस्यासम्बन्धी गुनासा निरन्तर आइरहेका छन् र समाधानका उपायबारे छलफल भइरहेको छ। तर तत्काल प्रभावकारी कदम नचालिए बैतडीका हरियालीले भरिएका फाँटहरू क्रमशः उजाडिँदै जाने चिन्ता बढेको छ।












