दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–३, तुषारपानीदेखि नेपालको उत्तरी सीमा तिङ्कर नाका जोड्ने तुषारपानी–कोठेधार–तिङ्कर सडक आयोजनामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेट न्यून भएको भन्दै स्थानीयवासीमा निराशा बढेको छ।
सामरिक महत्वको उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। आगामी आर्थिक वर्षका लागि सरकारले यस आयोजनामा १२ करोड १९ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। तर तिङ्कर नाकासम्म सवारीसाधन पुग्ने गरी सडक विस्तार गर्न अझै ५९.२ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ।
ब्यास गाउँपालिका–५ का वडाध्यक्ष वीरसिंह धामीले सीमावर्ती जनताको जीवनसँग प्रत्यक्ष जोडिएको यो सडकका लागि पर्याप्त बजेट आवश्यक भए पनि न्यून रकम विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार हरेक वर्ष सीमित बजेट छुट्याइँदा सडक निर्माण कहिले सम्पन्न हुन्छ भन्ने अनिश्चितता बढ्दै गएको छ।
उहाँले भन्नुभयो, “सीमाका जनताको जीवनसँग जोडिएको यो सडक निर्माणका लागि पर्याप्त बजेट आवश्यक थियो। तर न्यून बजेट विनियोजन भयो। यस्तो गतिमा कहिले सडक बन्ला भनेर नागरिक निराश छन्।”
आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनाले निर्माण कार्य थालेको यस सडकमा हालसम्म १९.८ किलोमिटर ट्र्याक खोलिएको छ। त्यसमध्ये तुषारपानीदेखि ब्यास–२ दुम्लिङसम्मको १२ किलोमिटर खण्डमा सवारीसाधन सञ्चालन योग्य बनेको छ। सेनाका अनुसार हालसम्म कुल कामको करिब २२.१५ प्रतिशत मात्र प्रगति भएको छ।
तुषारपानीदेखि तिङ्करसम्मको कुल ७९ किलोमिटर सडक निर्माण गर्ने जिम्मा २०७७ वैशाख १४ गते तत्कालीन मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो।
नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले तिङ्कर सडकलाई राष्ट्रिय सुरक्षा र रणनीतिक महत्वको आयोजना भए पनि न्यून बजेट विनियोजन हुनु निराशाजनक भएको बताउनुभएको छ। उहाँले प्राथमिकताका आधारमा पर्याप्त स्रोतसाधन नदिइनु सुशासन र विकास दुवै दृष्टिले कमजोर संकेत भएको टिप्पणी गर्नुभयो।
त्यसैगरी ब्यास–२ मालका स्थानीय जनकसिंह धामीले यो सडक कालापानी–लिपुलेक क्षेत्रसँग समेत जोडिएको रणनीतिक मार्ग भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
यस क्षेत्रका स्थानीयले राज्यको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न र आधारभूत सेवा विस्तारका लागि सडक निर्माणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आएका छन्। सडक नहुँदा ब्यास–१ तिङ्कर र छाङरुका बासिन्दा परम्परागत रूपमा भारतीय बाटो प्रयोग गरेर सदरमुकाम खलङ्गा आउन बाध्य छन्।
तिङ्करका स्थानीय दानसिंह टिङ्करीका अनुसार भारतीय बाटो प्रयोग गर्दा अनुमति लिनुपर्ने बाध्यता अझै कायम छ। ब्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले सीमावर्ती नागरिकलाई हौसला प्रदान गर्न सडक निर्माणमा पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभएको छ।
त्रिदेशीय व्यापार, कैलाश मानसरोवर तीर्थयात्रा र पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको तिङ्कर नाका जोड्ने यो सडकका लागि हालसम्म सरकारले २०७८/७९ देखि हालसम्म करिब ६३ करोड १ लाख रुपैयाँ खर्च गरिसकेको छ।












