कैलाली- गोदावरी नगरपालिका क्षेत्रमा आपतकालीन प्रतिकार्य तथा आगलागी रोकथाम सम्बन्धी पूर्वअभ्यास कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका १२ वटै वडामा सामुदायिक आगलागी नियन्त्रण पूर्वअभ्यास सञ्चालन गरिएको हो ।
घरायसी तथा सामुदायिक स्तरमा हुने आगलागीका घटना नियन्त्रणका क्रममा प्रभावकारी प्रतिकार्य व्यवस्थापन, आपतकालीन अवस्थामा समन्वय तथा विपद् पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले उक्त अभ्यास गरिएको हो । कार्यक्रममा विद्यालय तथा समुदायस्तरका स्वयंसेवक, विद्यार्थी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
गोदावरी नगरपालिकाको आयोजनामा तथा युरोपेली आयोगको आर्थिक सहयोग, युएनडिपी नेपाल, युनिसेफ नेपाल, युएन वुमन र ह्यान्डीक्याप इन्टरनेसनलको प्राविधिक सहकार्यमा रुडुक नेपालद्वारा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर) परियोजनामार्फत कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम विभिन्न स्थानमा प्रयोगात्मक रूपमा सञ्चालन गरिएको थियो । यस क्रममा उपस्थित जनप्रतिनिधि, स्थानीय अगुवा तथा स्वयंसेवी विद्यार्थीहरूलाई आगलागी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका व्यावहारिक अभ्यास गराइएको थियो ।
नगर प्रहरी सन्दुक राम चौधरीका अनुसार यस्ता जनचेतनामूलक अभ्यासले विपद् प्रतिकार्यमा संलग्न निकायहरूबीच समन्वय सुदृढ गर्नुका साथै स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउँछ ।
त्यस्तै, रुडुक नेपालका सुपर परियोजना अधिकृत मृदुल जोशीले यस अभ्यासमार्फत स्थानीय बासिन्दालाई आगलागी नियन्त्रणका विभिन्न विधि र प्रविधिको प्रत्यक्ष अनुभव प्रदान गरिएको बताए । उनका अनुसार यसले समुदायको तयारी क्षमता बढाउँदै आपतकालीन अवस्थाको प्रभावकारी व्यवस्थापनमा मद्दत गर्नेछ ।












