डडेल्धुरा- नेपाली कांग्रेस (विपी)बाट नेपाली कांग्रेसमा समाहित भएका सुदूरपश्चिमका नेताहरुले समायोजनको समझदारीमा यथावत् रहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस (विपी)का सभापति सुशीलमान शेरचनले पार्टी समाहित नहुने आशयको विज्ञप्ति जारी गरेपछि नेताहरूले त्यसप्रति असहमति जनाएका हुन् ।
तत्कालीन नेपाली कांग्रेस (विपी) सुदूरपश्चिमका सभापति करुणाकर भट्ट र जिल्ला सभापति भरत नेपालीले जारी गरेको वक्तव्यमा गत फागुन १८ गते नेपाली कांग्रेस र नेपाली कांग्रेस (विपी) बीच भएको समझदारीअनुसार पार्टीको सिद्धान्त, संगठन र संरचना नेपाली कांग्रेसमा समाहित हुने सहमति भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा त्यसपछि आफूहरू नेपाली कांग्रेसमा समाहित भएर सक्रिय रूपमा पार्टी गतिविधिमा संलग्न रहेको अवस्थामा सुशीलमान शेरचनले एकल रूपमा जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
नेताद्वयले फागुन १८ गते भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
यस्तै, नेपाली कांग्रेस (विपी)का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले पनि समायोजन प्रक्रिया यथावत् रहेको बताएका छन् । उनले नेपाली कांग्रेस (विपी) बाट गएका सुदूरपश्चिमका सम्पूर्ण नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा समाहित हुने प्रक्रियामै कायम रहेको जानकारी दिएका छन् ।













